तनहुँमा दिन थाले काँग्रेस नेताहरूले धमाधम राजीनामा
पोखरा
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहजिल्लामा काँग्रेस नेताहरूले धमाधम राजीनामा दिन थालेका छन् ।
टिकट वितरणमा असन्तुष्ट बनेका आकांक्षीहरूले राजीनामासँगै बागी उम्मेदवार दिएका हुन् । काँग्रेसबाट सधारण सदस्यसमेत नरहने गरेर कारबाहीमा परेका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी समूहको नेकपा एमालेसँग तालमेल अर्कोतिर टिकट वितरणमा असन्तुष्टले धमाधम राजीनामा दिन थालेसँगै काँग्रेस चेपुवामा परेको छ ।
दमौलीमा मंगलबार पत्रकार सम्मेलन गर्दै व्यास नगरपालिकाको मेयरका आकांक्षी भए पनि टिकट नपाएका काँग्रेस तनहुँ जिल्ला कार्यसमितिका पूर्वसचिव विश्व बाँस्तोलासहितले सात जना नेताले राजीनामा दिएका छन् ।
शुक्लागण्डकी नगरपालिकाको मेयरका आकांक्षी महेश्वर भट्टराईले पनि राजीनामा दिएका छन् । उनीशुक्लागण्डकीका काँग्रेस नेता दिपेन्द्र पौडेल, ऋषिराम महतसहित व्यासका चुणमणि दाहाल, दीर्घा थापा र बाबुराम बगालेले पनि मंगलबार दमौलीमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिए ।