मतदान सकेर यार्सागुम्बा टिप्न खर्क उक्लिए मनाङवासी



पोखरा

स्थानीय तह निर्वाचन-२०७९ अन्तर्गत मनाङमा मतदान र मतगणना कार्य सकिएको छ । यहाँको चार स्थानीय तहमा नयाँ जनप्रतिनिधि आइसकेका छन् । तर, मनाङवासीलाई भने स्थानीय तहको निर्वाचनसँगै औषधीजन्य जडिबुडी (यार्सागुम्बा) संकलनको चटारो परेको छ । 

उनीहरु मतदान सकिएपछि यार्सागुम्बा संकलन गर्न खर्क पुगेका छन् । स्थानीय तह निर्वाचनमा मतदान गर्न आफ्नो क्षेत्रमा पुगेका मनाङवासी मतदानकार्य सकेर खर्क पुगिसकेका हुन् । उनीहरु आजदेखि नै यार्सागुम्बा संकलनमा आफूलाई व्यस्त बनाएका छन् । 

मतदान सकिएको भोलिपल्टै मनाङवासी खर्कतर्फ लागेका हुन् । उनीहरुको मुख्य आयस्रोत जङ्गली औषधीजन्य जडिबुटी यार्सागुम्बा नै हो । उनीहरु जडिबुटी संकलनका लागि नारफु, नाम्के खर्क, खाङ्सार खर्क अहिले पुगिसकेका हुन् । 

“स्थानीय तह निर्वाचनका लागि यार्सा टिप्न बन्द गरिएको थियो, मतदान पनि गरियो अब यार्सागुम्बा टिप्न खर्कतर्फ लागेका हौँ”, चामे गाउँपालिका-४ जगबहादुर गुरुङले भने । उनले मनाङको विकासको लागि जनप्रतिनिधि चुन्न खर्क छोडेर आएको र मतदानकार्य सकेर पुनःखर्कतर्फ फर्किएको बताए । 

त्यस्तै गोर्खा घर भई यार्सागुम्बा संकलन गर्न मनाङ पुगेका सोनाम गुरुङले ‘सिजन’ लाई समात्न सक्नुपर्ने भएकाले मतदानमा सहभागी भएर खर्कतर्फ लागेको बताए । “समयमा नै यार्सागुम्बा संकलन गर्न सकिएन भने पछि हराउँछ, त्यही भएर आजभोलि खर्कतर्फ छिटो फर्किन लागेका छौँ”, उनले भने । 

स्थानीय तह निर्वाचनमा सहभागी गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय मनाङले गत बैशाख २५ देखि ३० गतेसम्म यार्सागुम्बा संकलनकार्य बन्द गराएको थियो । यार्सागुम्बा संकलन बन्द गरिएपछि जिल्लावासी आआफ्ना घरमा फर्किएका थिए । निर्वाचनमा सहभागी भएर पुनः यार्सागुम्बा संकलनका लागि उनीहरु खर्कतर्फ मतदान सकिएको भोलिपल्टै खर्क उक्लिएको स्थानीय बताउँछन् ।

विशेषगरी यो मौसम यार्सागुम्बा संकलन गरी घरमा ल्याएर सुरक्षित गर्ने समयको रुपमा लिइन्छ । यार्सागुम्बा संकलनका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङको गत चैत २३ गते बसेको बैठकले स्वीकृति पाएपछि समितिमार्फत पूर्जी दिने निर्णय भएको थियो । बैठकको निर्णय बमोजिम नै यार्सागुम्बा संकलन गर्न पाउने भएपछि मनाङवासीलाई चटारो परेको हो । 

यार्सागुम्बा सङ्कलनका लागि जिल्लावासी मात्रै नभएर बाहिरी जिल्लाबाट पनि खर्क आउने गर्दछन् । निर्वाचनमा सहभागी भएर मनाङवासीहरु यार्सागुम्बा सङ्कलन गर्न मनाङवासी खर्कतर्फ लागेको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले बताए । उनका अनुसार यार्सागुम्बा संकलनमा निस्किएका मनाङवासीको सुरक्षाका लागि खर्कतर्फ पनि सुरक्षाको व्यवस्था गरिएको छ । 

यार्सागुम्बा संकलन गर्न पुर्जी काटिसकेका स्थानीय तथा बाह्य जिल्लाबाट आउने संकलनकर्तालाई सहज रुपमा खर्कतर्फ जान दिइएको आचार्यले बताए । यार्सागुम्बा संकलनकार्य नाम्केखर्कबाट शुरु भई नार, फु र माथिल्लो मनाङको खाङ्सार खर्कमा सकिने एक्यापका प्रमुख लेखनाथ गौतमले जानकारी दिए । उनका अनुसार आउँदो असारको पहिलो हप्तासम्म यार्सागुम्बा संकलन गर्न सकिने समय हो । बैशाख १५ देखि असारको पहिलो सातासम्म औषधीजन्य जडिबुटी संकलन गरी मनाङवासी बेंशीतर्फ फर्किनेछन् । 

यार्सागुम्बा सङ्कलन अवधिभर नेपाल प्रहरीद्वारा आवश्यकता अनुसार नार, फुलगायतका अन्य स्थानमा सुरक्षा प्रबन्ध मिलाउने तथा अन्य सुरक्षा निकायले सहयोग गर्ने गौतमले बताए । उनका अनुसार यार्सागुम्बा संकलन गरेको परिचय पत्र सम्बन्धित संरक्षण क्षेत्र व्यवस्थापन समितिको सिफारिस तथा दस्तुर तिरेको रसिद र सम्बन्धित गाउँपालिकाको दस्तुर तिरेको रसिद लिएर आएमा मात्र छोडपूर्जी दिन अनुरोध गरिएको छ । यार्सागुम्बा पाइने क्षेत्रमा संकलन गर्न जाने संकलकहरुले १० वटा यार्सागुम्बा टिपिएकामध्ये एक वटा सोही स्थानमा छोड्नुपर्ने प्रावधान निर्धारण गरिएको छ । 

मनाङ बाहिरका यार्सागुम्बा तथा अन्य जडिबुटी संकलकहरु र खरिद गर्न आउने व्यक्तिहरुले अनिवार्य रुपमा कोभिड-१९ विरुद्धको खोप लगाएको परिचय पत्र (मोबाइलमा भएपनि खोपकार्ड) लिएर आउनुपर्ने र प्रहरी कर्मचारीले माग गरेको अवस्थामा देखाउनुपर्नेछ । यार्सागुम्बा तथा अन्य जडिबुटी संकलक तथा खरिदकर्ताले आवश्यक स्वास्थ्यका मापदण्ड अपनाउनसमेत अनुरोध गरिएको छ । 

गत दुई वर्ष यार्सागुम्बा तथा अन्य जडीबुटी संकलन र खरिद विक्री गर्न नसक्दा जिल्लाको राजश्व पनि घटेको जनाइएको छ । यसवर्ष भने सहजरुपमा जडीबुटी संकलन हुने भएकाले राजश्व बृद्धि हुने अपेक्षा गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja