आज लमजुङमा सञ्चालित ३ वटा जलविद्युत गृहबाट बिजुली उत्पादन बन्द
पोखरा
लमजुङमा सञ्चालित ३ वटा जलविद्युत गृहबाट आज (आइतबार) बिजुली उत्पादन बन्द गरिएको छ।
७० मेगावाटको मध्य मर्स्याङ्दी, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी र ३० मेगावाटको न्यादि जल विद्युतगृहबाट आज विद्युत उत्पादन बन्द गरिएको हो। सोही विद्युतगृहबाट आइतबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म विद्युत उत्पादन बन्द गरिएको छ।
गत वर्षको असार १९ गते आएको पहिरोले ढालेको मध्यमर्स्याङ्दी–मर्स्याङ्दी १ सय ३२ केभी डबल सर्किट प्रसारण लाइनको टावरको ठाउँमा निर्माण गरिएको नयाँ टावरमा तार टाँग्नका लागि विद्युत उत्पादन बन्द गरिएको हो। करिब १ सय ५० मेगावाट विद्युत उत्पादन बन्द हुने भएपछि प्राधिकरणले वैकल्पिक व्यवस्था गरी उपभोक्तालाई विद्युत आपूर्ति गरेको छ।