मलको अभावका कारण धान खेतहरू अझै बाँझै
पोखरा
रोपाइँको सिजनको मध्यमा पर्ने असार १५ आउन एक हप्ता मात्र बाँकी रहँदा बारामा भने रोपाइँ सुरु पनि भएको छैन । उसै पनि आकाशे पानीको भरमा हुने खेतीमा वर्षा नभएर माटो भित्रको आद्रताको अभाव हुँदा बिडमा बिउ हाल्ने काम करिब एकदेखि २ हप्ता सम्म ढिलो भएको छ ।
त्यस माथि मल पनि नपाइने भए पछि बिउ उम्रिसकेका खेतमा पनि किसानले रोपाइँ सुरु गरेका छैनन् । यसरी मल नपाइने भए पछि अन्नको भण्डार भनिने मध्य तराईको जिल्ला बारा, पर्सा, रौतहटमा रोपाइँ प्रभावित भएको छ । खेतहरू बाँझै रहेका छन् ।
कलैया उपमहानगरपालिकाका नगरप्रमुख बिनोद शाहका अनुसार सिँचाइको समस्या दोहोरिने गरेको भए पनि किसानहरूले दमकल लगाउने, नदीमा बाँध लगाउने जस्ता उपाय अपनाउने गरेका छन् । मल अभावसँग जुध्ने जुक्ति अब नरहेको उनले बताए ।
कृषि ज्ञानकेन्द्रको रेकर्ड अनुसार यी जिल्लाहरूमा १५० देखि १६० हजार हेक्टरसम्म धान खेती हुन्छ । धान यहाँको मुख्य बाली हो । भदौ असोज मैं काटिने सारो धान छिटफुट रोपिएका छन् । तर यो पटक भने यी जिल्लामा २० प्रतिशत पनि रोपाइँ भएको छैन । अरु तराईका जिल्लाहरुको पनि अवस्था उस्तै छ ।
यता कृषि सामग्री कम्पनीको वीरगञ्ज स्थित मलको प्रवेश बिन्दु तथा मधेस प्रदेश कार्यालयका अनुसार कम्पनीले खरिद गरेको मल कहिले आइपुग्ने यकिन हुन सकेको छैन । असारको तेस्रो सातासम्म मल यहाँ आइपुग्ने आँकलन गरिएको कार्यालयका सूचना अधिकारी आलोककुमार झाले बताए ।
झाका अनुसार ग्लोबल टेन्डर मार्फत खरिद गरिएको ४० हजार टन डिएपी र ३० हजार टन युरिया गरी ७० हजार टन मल अहिले आयात हुने प्रक्रियामा रहेको छ र ‘जि–टु–जि’ (गभर्नमेन्ट टु गभर्नमेन्ट) प्रक्रियामा यस पाली खरिद गरिएको डेढ लाख टन मल नेपाल ल्याउन पहल गरिरहेको कम्पनीले जनाएको छ । हिजो मात्रै कायम मुकायम प्रबन्ध सञ्चालक राजेन्द्र बहादुर कार्कीको नेतृत्वमा ३ सदस्यीय टोली भारत गएको प्रदेश कार्यालयका सूचना अधिकारी झाले बताए ।
त्यस्तै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले डिएपीको बितरण यहाँ सुरु गरे पनि माग भन्दा निकै कम परिमाणमा आपूर्ति हुँदा त्यसबाट अझ बितरण कसरी गर्ने भने सकस भएको छ । गत जेठ २१ मा साल्ट ट्रेडिङको २० हजार टन डिएपी नेपाल भित्रिएको थियो । सो कम्पनी मार्फत आयात हुन लागेको २२ हजार टन युरिया हल्दिया बन्दरगाहबाट हिडिसकेर ५ दिन भित्र आइपुग्ने अनुमान गरिएको वीरगञ्ज स्थित कार्यालयका प्रमुख अनोज लामिछानेले बताए ।