मनाङस्थित मर्स्याङ्दी नदीमा आएको बाढीबाट जोगाउन तटबन्ध गरिँदै
पोखरा
हिमाली जिल्ला मनाङस्थित मर्स्याङ्दी नदीमा आएको बाढीबाट जोगाउन तटबन्ध गरिँदैछ ।
मर्स्याङ्दी नदीमा गतवर्ष जेठ अन्तिम र असारमा आएको बाढीले डुबानमा परेको गाउँको बस्ती जोगाउन सो निर्माण कार्य भइरहेको हो । नदी कटानको उच्च जोखिममा परेको नासों गाउँपालिका–१ तालगाउँलाई जोगाउन ग्याबिन जाली सहितको पक्की तारजाली लगाउने काम भइरहेको छ ।
गतवर्ष बाढीले क्षति पुगेको बस्ती संरक्षणका लागि हिउँदमा सुरु भएर अहिलेसम्म निर्माण सम्पन्न भइसक्नुपर्ने भए पनि नदी कटानबाट जोगाउन बस्ती संरक्षणका लागि सो काम वर्षा लागेपछि बल्ल सुरु भएको हो ।
वर्षायाम सुरु हुनै लाग्दा थालिएको योजनाले पूर्णता नपाउने, बाढीले क्षति गर्ने, लगानी खेर जाने र जोखिम बढ्ने चुनौती देखिएको छ । संघीय सरकारमार्फत भौतिक पूर्वाधार मन्त्रालयले यसवर्ष तालगाउँको संरक्षणका लागि मर्स्याङ्दी नदी कटान रोक्न ग्याबिन जाली लगाउन १९ लाख विनियोजन गरेको थियो ।सोही बजेटबाट अहिले सो काम भइरहेको छ ।
समयमा नै बजेट उपलब्ध नहुँदा निर्माणको काम ढिलो गरी सुरु भएको निर्माण समितिले जनाएको छ । पूर्व राज्यमन्त्री टेकबहादुर गुरुङको पहलमा तालगाउँको बस्ती संरक्षणका लागि डिपीआर (विस्तृत आयोजना प्रतिवेदन) तयार गरिएको थियो ।