बागलुङमा खाने पानीको चरम समस्या
पोखरा
वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निर्क्यौल गर्ने गर्छन् । वर्षात्को समयमा बागलुङमा खाने पानीको चरम समस्या हुन्छ । वर्षा याममा धमिलोपानी आउने भएपछि आकाशबाट पानी परेको दिन खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले खानेपानी कटौती गर्ने गरेको छ ।
पानी पर्ने दिन धारोमा पानी आउँदैन
खानेपानीलाई शुद्धीकरण गर्न नसकेपछि नगर खानेपानी कार्यालयले धमिलो दूषित पानी बजारमा पठाउँदै आएको भन्दै उपभोक्ताले चर्को आलोचना गर्दै आएका छन् । धमिलो पानी वितरण नगर्न अदालतले समेत आदेश दिएको छ । सामान्य अवस्थामा समेत नगर खानेपानीले उपभोक्ताको मागअनुसार खानेपानी आपूर्ति गर्न सकेको छैन ।
नगरका उपभोक्तालाई स्वच्छ खानेपानी उपलव्ध गराउने गरी नगर खानेपानी लिफ्ट आयोजना निर्माणधिन अवस्थामा छ ।आयोजना सकेर घर–घरमा पानी पुर्याउने समयमा आयोजनाको काम कछुवा गतिमा भइरहेको छ । काठे खोलाको पानी शुद्धीकरण गरेर लिफ्टमार्फत बागलुङ बजार ल्याउने आयोजनाको काम बल्ल ८० प्रतिशत पूरा भएको छ ।
नगर खाने पानी तथा उपभोक्ता संस्थाका प्रबन्धक हिमालप्रसाद शर्माले पानी पर्दा मुहानमा भल पस्ने समस्या भएका कारण धमिलो पानी उपभोक्तामा नपुगोस् भनेर पानी पर्दाको दिन खानेपानी वितरण नगरिएको बताए । “सामान्य अवस्थामा पानी फिल्टर गरेर पठाउने गरेका छौँ तर पानी पर्दा धमिलो पानी आउँछ फिल्टरले धान्दैन” उनले भने, “लिफ्ट आयोजना नबन्दासम्म बागलुङ बजारमा खानेपानीको दीर्घकालीन समस्या समाधान गर्न सकिँदैन, अस्थायी रुपमा खाने पानी शुद्धीकरण गर्ने काम भइरहेकै छ, खानेपानी राम्रो आउँदासमेत माग धान्नै समस्या हुने अवस्थामा पानी नआउँदा उपभोक्तालाई समस्या नै हुन्छ ।
”खानेपानीको समस्या भएपछि बागलुङ बजारका उपभोक्ताले खानेपानी ल्याउनका लागि उपल्लाचौरको अम्बोट, तित्याङ र सुलडाँडा पुग्ने गरेका छन् । बर्खा लागेपछि शुद्ध खानेपानीको खोजीमा मूलको पानी ल्याउन उपभोक्तले समय खर्चिनुपर्ने भएको छ । शुद्ध खानेपानी वितरण नभएको भन्दै उपभोक्ताले बागलुङ नगरपालिका, जिल्ला प्रशासन तथा नगर खानेपानी संस्थालाई ध्यानार्कषण गराउँदै आएको उपभोक्ता डिल्ली गौतमले बताए ।