तनहुँको व्यासमा सामाजिक सुरक्षा भत्ता वितरण
पोखरा
व्यास नगरपालिका कार्यालयमा आर्थिक वर्ष ०७८/०७९ का लागि रु २४ करोड २९ लाख छ हजार ७३६ वितरण गरिने भएको छ ।
नेपाल सरकारले सूचीकृत गरेका सात हजार ६१३ जनालाई उक्त रकम वितरण गर्न लागेको नगरपालिका कार्यालय तनहुँले जनाएको छ । त्रैमासिक बजेट निकासा भई सामाजिक सुरक्षा भत्ता वितरणका लागि चौथो किस्तामा नपुग रकम रु चार करोड २४ लाख ३८ हजार ३३० राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा माग गरिएको छ।
ज्येष्ठ नागरिक ७० वर्ष पुगेकालाई रु चार हजार, लोपोन्मुख आदिवासी जनजाति र पूर्ण अशक्त अपाङ्गतालाई रु तीन हजार ९९० का दरले सामाजिक सुरक्षा भत्ता वितरण गरिने प्रावधान रहेको व्यासका पञ्जिकाधिकारी विष्णुकुमार श्रेष्ठले जानकारी दिए ।
त्यसैगरी अन्य ज्येष्ठ नागरिक र एकल महिला ६० वर्ष पुगेका, ७० वर्षमुनिका न्यायिक पृथकीकरण, श्रीमान् नभएका, सम्बन्ध विच्छेद गरेका र विधुवा ६० वर्षभन्दा मुनि श्रीमान् बितेकालाई रु दुई हजार ६६० का दरले भत्ता वितरण गर्न लागिएको हो ।
त्यसैगरी, अति अशक्त अपाङ्गता ‘ख’ वर्गका लागि रु दुई हजार १२८, दलित बालबालिकाका लागि रु ५३२ का दरले भत्ता वितरण गरिनेछ । नगरपालिका कार्यालयले आर्थिक वर्ष ०७७/०७८ मा रु २० करोड १७ लाख ४३ हजार ३१५ सामाजिक सुरक्षा भत्ता वितरण गरेको थियो ।
गतवर्षको तुलनामा यसवर्ष ३३ प्रतिशतले वृद्वि भएको व्यास नगरपालिकाका सूचना अधिकारी एवं आलेप नोडल अधिकृत कुमारकञ्चन जीसीले जानकारी दिए । उनका अनुसार गत वर्ष सात हजार ५६१ जनाले सामाजिक सुरक्षा भत्ता बुझेका थिए ।मृत्यु हुनेको संख्याको तुलनामा जन्मदर बढी हुने हुँदा वार्षिक १५ देखि २० प्रतिशतले सामाजिक सुरक्षा भत्ता वृद्धि हुने देखिएको उनले बताए ।