म्याग्दीमा पानीको अभाव भएपछि रोपाइँमा समस्या
पोखरा
म्याग्दीमा यस वर्ष असार अन्तिम सातासम्म पानीको मूल फुट्न नसक्दा रोपाइँ हुन सकेको छैन ।
पर्याप्त वर्षा नहुँदा जिल्लामा ४५ प्रतिशत खेतमा पनि रोपाइँ हुन नसकेको हो । विगतका वर्षहरुमा असार अन्तिम सातासम्म प्रायः सबै ठाउँमा रोपाइँ भैसक्ने यहाँका फाँट यस वर्ष भने बाँझै देखिएका छन् । मूल फुटेर, खहरे तथा अन्य खोलाहरुमा पानीको छेलोखेलो हुने समयमा यस वर्ष पानीकै अभाव भएपछि रोपाइँ हुन नसकेको किसानहरुले बताएका छन् ।
आकाशको पानी नपरेपछि खेतका कुना र कान्लाका मूल पनि फुटेको छैन । सिँचाइका लागि कुलो वा नहरको व्यवस्थापन भएका, खोल्साको आसपासमा भएका बाँझा जमिनमा रोपाइँ सकिएको भए पनि मकैखेती भएको मुख्य उत्पादनयोग्य भूमिमा रोपाइँ भएको छैन ।