तनहुँमा भानु गृह निर्माण कार्य शिलान्यास भएको छ वर्ष बित्दा पनि शुरु हुन सकेन
पोखरा
राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मघर पुनःनिर्माणको काम शिलान्यास भएको छ वर्ष बित्दा पनि शुरु हुन सकेको छैन ।
तनहुँको भानु नगरपालिका वडा नं. ४ शिखरकटेरीस्थित भानुगृह पुनःनिर्माणका लागि छ वर्षअघि शिलान्यास भए पनि काम अघि बढ्न नसकेको हो । पश्चिमाञ्चल विकास मञ्चले भानु गृहको पुनःनिर्माणका लागि २०७३ चैत २२ गते ‘भानु शिखर कटेरी’ को शिलान्यास गरेको थियो ।
रु ६८ लाखको लागतमा निर्माण हुने भनिएको भानुगृहको त्यसपछि कुनै काम शुरु भएको छैन । भानु गृहनिर्माणका लागि स्वामित्व ग्रहण र पूर्वाधार अभावको मुख्य समस्या देखिएको सरोकारवाला बताउँछन् । पश्चिमाञ्चल विकास मञ्चका संस्थापक अध्यक्ष रामकाजी कोने पूर्वाधार निर्माण, स्वामित्व ग्रहण र सुरक्षा अभावका कारण भानु घरको काम शुरु गर्न नसकिएको बताउछन् ।
भानु गृह निर्माण गर्ने ठाउँ सामुदायिक वनभित्र रहेकाले सुरक्षाको पनि समस्या देखिएको उनको भनाइ छ । “भानु गृह निर्माण गरेर मात्रै भएन, त्यसको संरक्षण हुनुपर्छ, शिखर कटेरीमा सुरक्षाको राम्रो प्रबन्ध मिलाउनुपर्छ,” उनले भने, “प्रहरीको एउटा युनिट नै त्यहाँ नराखीकन त्यसको संरक्षण हुन सक्दैन ।” कोनेका अनुसार भानु गृहको संरक्षण भानु नगरपालिकाले गर्ने हो की भानु जन्मस्थल विकास समितिले गर्ने भन्ने विषयमा प्रष्ट छैन । “स्वामित्व कसले लिने भन्ने भन्ने प्रतिबद्धता आयो भने काम शुरु भइहाल्छ । अहिले शिखरकटेरीमा रामायण भवन निर्माण भएको छ, त्यो पनि बेवारिसे अवस्थामा पुगिसक्यो,” उनले भने ।
भानु गृह निर्माणका लागि पूर्वाधारको तयारी नगरिएकामा उनको गुनासो छ । बाह्रैमास चल्ने सडक, खानेपानीको अभाव, सुरक्षाको प्रबन्ध नभएका कारण पनि काम शुरु गर्न नसकेको बताइएको छ । भानु गृह निर्माण गरेर आफूहरुले मात्र त्यसको संरक्षण गर्न नसक्ने कोनेको भनाइ छ । “चुँदी रम्घामा रहेको आदिकवि भानु जन्मस्थल विकास समितिको कार्यालय शिखरकटेरीमा स्थानान्तरणका लागि आफूहरुले माग गरेको कोनेले बताए ।
विसं २०५७ मा भानु जन्मस्थल विकास समितिको सहयोगमा यादव खरेलले ‘आदिकवि भानुभक्त’ नामक चलचित्र निर्माण गर्नका लागि भानुभक्तको घर रु एक लाखमा पुनःनिर्माण गरे । जङ्गलबीचको खरको छानाको घरमा २०६१ जेठमा आगलागी हुँदा करीब रु एक लाख २७ हजारको क्षति भएको थियो । भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी राष्ट्रिय विभूतिको अलपत्र रहेको घर पुनःनिर्माण नहुनु दुःखद रहेको बताउछन् । भानु जन्मस्थललाई भानुधामको रुपमा विकास गर्ने नगरपालिकाको योजना रहेको उनले बताए । सङ्घ सरकारसँग सहकार्य गरी नगरपालिकाले नै भानुको घर पुनःनिर्माण गर्ने योजना रहेको त्रिपाठीले बताए ।
यता, आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले भने अब आफैले भानु गृह निर्माण गर्ने बताएको छ । भानु गृह जीर्ण बन्दै गएको र पश्चिमाञ्चल विकास मञ्चले पनि काम सुरु नगरेपछि समितिले नै भानुगृह पुनःनिर्माण गर्ने बताएको छ । विकास समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले आगामी वर्ष विकास समितिको पहलमा नै भानु गृहको पुनःनिर्माण गर्ने सोच बनाइएको जानकारी दिए ।
भानु गृह पुनःनिर्माणका विषयमा पटक-पटक सम्पर्क गर्दा अनेक बहाना बनाइएको रानाभाटले बताए । “बाटो छैन, पानी छैन भनेर उहाँहरुले काम सुरु गर्नुभएन, अब काम होला जस्तो पनि लागेन, हामी आफै बनाउँछौँँ”, उनले भने । विकास समितिसँग पर्याप्त बजेट नहुने भएकाले सङ्घीय सरकारसँग यसको विषयमा कुरा गरिने रानाभाटले बताए ।
समितिले यसै वर्ष शिखर कटेरीमा पानी र बत्तीको व्यवस्था गरेको छ । शिखर कटेरीमा नै रामायण भवन निर्माण सम्पन्न भइसकेको छ । पर्यटन मन्त्रालयको रु तीन करोड लगानीमा रामायण भवन निर्माण गरिएको हो । आकर्षक रुपमा बनाइएको यस भवनको बार्दली काठमा कुँदिएको कलात्मक छ ।