जामुने–कोत्रे खण्डका १ सय ३८ वटा भौतिक संरचना भत्काइने



पोखरा

पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडक आयोजनाको पश्चिम खण्डअन्तर्गत जामुने–कोत्रे खण्डका १ सय ३८ वटा भौतिक संरचना भत्किने भएका छन् ।

सडक विस्तारका लागि घर, टहरा, पार्टीपौवा, पर्खाललगायतका भौतिक संरचना भत्काइन लागिएको हो ।सडकलाई चार लेनमा विस्तार गर्ने क्रममा जामुनेदेखि कोत्रेसम्मको खण्डको सडक मापदणअनुसार २५–२५ मिटर दायाँबायाँको क्षेत्रभित्र निर्माण गरिएका व्यक्तिगत तथा सार्वजनिक संरचना हटाइने पश्चिम सडकखण्डका प्रमुख अमित श्रेष्ठले बताए ।

श्रेष्ठले भने, ‘आयोजनाबाट प्रभावितलाई क्षतिपूर्ति रकम दिएर मात्र हटाउनुपर्ने व्यवस्था भएकाले त्यस्ता संरचना यकिन गरी प्रतिवेदन पेस गर्न तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेको संयोजकत्वमा उपसमिति गठन गरिएको छ ।’

उक्त संरचनाको क्षतिपूर्तिका लागि आयोजनाले २ करोड ४५ लाख ३९ हजार रुपैयाँ रकम दिन स्वीकृत गरेको प्रमुख श्रेष्ठले बताए । उनका अनुसार हालसम्म करिब ४२ घरलाई ४० लाख बराबरको क्षतिपूर्ति वितरण गरिसकिएको छ ।

क्षतिपूर्ति रकम भुक्तानी दिँदा पहिलो किस्ताबापत ५० प्रतिशत सम्बन्धित व्यक्तिको बैंक खातामा जम्मा गरिदिने व्यवस्था छ । दोस्रो किस्तामा घर, टहरा स्वयंले हटाइसकेपछि मात्रै वडा कार्यालयको सिफारिसका आधारमा सम्बन्धित व्यक्तिको बैंक खातामा रकम जम्मा गरिदिने आयोजनाले जनाएको छ । यदि रकम एक लाख वा सोभन्दा कम भएमा एकमुष्ट भुक्तानी दिने व्यवस्था मिलाइएको प्रमुख श्रेष्ठले बताए ।

‘तनहुँ खण्डको भत्काइने भौतिक संरचनाको अध्ययन गरी क्षतिपूर्ति वितरणको काम भइरहेको छ, कास्की खण्डमा पनि भत्काइने संरचनाको अध्ययन हुँदै छ,’ उनले भने, ‘चाँडै नै सबै भत्काइने भौतिक संरचना सर्भे गरी सडक सीमाभित्र पर्ने संरचना हटाएर ती स्थानमा पनि सडक फराकिलो पार्ने काम अगाडि बढाउने छौं ।’ यस्तै, पश्चिम खण्डमा करिब ९५ प्रतिशत रुख कटानको काम सकिएको र तनहुँ खण्डको तीन स्थानबाट सडक चौडा बनाउने काम भइरहेको छ ।

त्यस्तै, पूर्वी खण्डमा करिब ५ सय ५ वटा भौतिक संरचना भत्काइने भएको पूर्वी खण्डका रेसिडेन्ट स्पेसलिस्ट चिन्तामणि शर्माले बताए । ‘पूर्व खण्डको दमौली र डुम्रे खण्डलाई नसमेटी ६ करोड रुपैयाँ बराबरको क्षतिपूर्ति व्यहोर्नुपर्ने सर्भेमा देखिएको छ’, उनले भने, ‘हालसम्म प्राप्त ३ करोड ५० लाख रुपैयाँ बराबरको क्षतिपूर्तिको रकमबाट वितरण गरिसकिएको छ ।’

पृथ्वी राजमार्गको करिब ७२ किलोमिटर सडक खण्ड तनहुँमा पर्छ । यस खण्डभित्र आँबुखैरेनी, विमलनगर, डुम्रे, छिर्कने, घाँसीकुवा, तालघारे, दमौली, चापाघाट, जामुने, थर्पु, खैरेनीटार, दुलेगौंडा, कोत्रेलगायत सानाठूला बजार क्षेत्र पर्छन् । यी बजारमध्ये बढी मात्रमा आँबुखैरेनी, विमलनगर, डुम्रे, छिर्कने, दमौलीलगायत बजार क्षेत्रका भौतिक संरचनाहरू प्रभावित हुनेछन् । यस्तै, वर्षाका कारण सडक फराकिलो बनाउने काम भने केही समयका लागि रोकिएको शर्माले बताए ।

सडक विस्तार कार्यअन्तर्गतको सडक सीमाभित्रका पर्ने करिव ९५ प्रतिशत रुख कटान कार्य सम्पन्न भएको बताइएको छ । सडक विभाग आयोजना निर्देशनालय (एडीबी) ले पहिलो चरणमा मुग्लिन–पोखरा सडक खण्डअन्तर्गतको आँबुखैरेनी–पोखरा खण्ड निर्माण प्रक्रिया अघि बढाएको छ । यसअन्तर्गत आँबुखैरेनी–जामुने पूर्वी खण्ड र जामुने–पोखरा पश्चिम खण्डले सडक विस्तारको कामलाई अगाडि बढाएका छन् ।

मुग्लिन–पोखरा सडकअन्तर्गतको पश्चिम खण्ड जामुने–पोखरा सडक निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुन हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले ७ अर्ब ४० करोड र पूर्व खण्ड आँबुखैरनी–जामुने सडक निर्माणको जिम्मा अर्को चिनियाँ कम्पनी कम्युनिकेसन कन्स्ट्रक्सनले ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा पाएको छ ।

राष्ट्रिय राजमार्गहरूको स्तरोन्नति र विस्तार गर्ने कार्यक्रमअन्तर्गत साविक दुई लेनमा रहेको मुग्लिन–पोखरा सडक खण्डलाई चार लेनमा विस्तार गरिने क्रममा तनहुँ क्षेत्रमा करिब ६ हजार ७५० रुख काटिने डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । यस्तै, सडक विस्तारकै क्रममा कास्की खण्डमा एक हजार २५० वटा रुख कटान हुने बताइएको छ । मुग्लिन–पोखराको दूरी करिब ८८ किमि छ ।

जसमा आँबुखैरेनी–पोखराको लम्बाइ ८० किमि छ । निर्देशनालयले आँबुखैरेनी–पोखरा सडकलाई दुई खण्डमा विभाजन गरेको छ । आँबुखैरेनी–जामुने (४१ कि.मि) पूर्वी खण्ड र जामुने–पोखरा (३९ कि.मि) पश्चिम खण्ड रहेको छ ।

आँबुखैरेनीदेखि मुग्लिन खण्डको ८ किलोमिटर दूरीको भने डिजाइन हुँदै छ । यो खण्डमा मर्स्याङ्दी जलविद्युत् गृह रहेकोले सडक फराकिलो बनाउन सकस हुने भएपछि सडकको रेखांकन नै परिवर्तन गर्ने तयारी भएको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja