चितवनमा रगत अभाव भएपछि पोखराबाट लगियो
पोखरा
चितवनमा रगत अभाव भएपछि पोखराबाट लगिएको छ ।
बुधबार पोखराबाट ४०० युनिट रगत लगिएको क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले जनाएको छ । प्रादेशिक रक्तसञ्चार केन्द्र पोखराबाट ओ, ए र बी समूहका चार सय युनिट रगत लगिएकोे हो । केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार बुधबार काठमाडौंबाट पनि ४५ युनिट रगत आएको छ ।
खेतीपातीको मौसम र गर्मीका कारण भरतपुरमा १० दिनदेखि रक्तदान हुन नसकेका कारण रगत अभाव भएको पौडेलले बताए । भरतपुरमा दैनिक १५० युनिट रगतको माग हुने गर्दछ । रगतको अभावमा बिरामीको उपचार नै कठिन भएपछि पोखरा र काठमाडौंबाट रगत मागिएको उनले बताए ।
चितवनमा सबैभन्दा बढी रगतको माग क्यान्सर अस्पतालमा हुने गर्दछ । रक्तक्यान्सर भएका एउटै बिरामीलाई ४०० युनिटसम्म रगत दिएको कार्यालयमा तथ्याङ्क रहेको पौडेलले बताए । यहाँको आधा रगत क्यान्सरका बिरामीका लागि जाने गर्दछ ।
क्यान्सरका अतिरिक्त दुई मेडिकल कलेज, भरतपुर अस्पताल र दुई दर्जन निजी अस्पतालमा रगतको माग हुने गर्दछ । मेडिकल कलेजहरुमा अङ्ग प्रत्यारोपणसम्मका उपचार हुने हुँदा रगतको माग उच्च हुने गर्दछ । राजधानी काठमाडौँपछि धेरै प्रसूति भरतपुरमा हुने गर्दछन् । दुर्घटनाका बिरामीको संख्या पनि यहाँका अस्पतालमा धेरै हुने गर्दछ ।
प्रसूति र दुर्घटनाका घाइतेहरुलाई पनि रगतको माग बढी हुने गर्दछ ।