म्याग्दीमा ४ वर्षको अवधिमा पाँच हजार घरमा खानेपानी सुविधा
पोखरा
म्याग्दीमा चार वर्षको अवधिमा पाँच हजारभन्दा बढी घरमा खानेपानीको सुविधा पुर्याइएको छ । ‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत खानेपानीको सुविधा विस्तार भएको हो ।
गण्डकी प्रदेश सरकारले शुरुआत गरेको हरेक घरमा खानेपानी पुर्याउने अभियानअन्तर्गत हालसम्म पाँच हजार १३७ घरमा खानेपानी पुर्याइएको खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख सुरेन्द्र पौडेलले जानकारी दिए । चौधवटा खानेपानी योजनामार्फत धारा निर्माण गरिएको हो ।
आर्थिक वर्ष २०७८/७९ मा एक हजार ३४७ घरमा धारा निर्माण गरिएको छ । “स्थानीयवासीले स्वच्छ र सफा खानेपानी उपभोग गर्न पाएका छन्”, पौडेलले भने । विसं २०७५ देखि गण्डकी प्रदेश सरकारले हरेक घरमा सफा र स्वच्छ खानेपानी सुविधा विस्तार गर्न ‘एक घर एक धारा’ कार्यक्रम अघि सारेको हो । जिल्लाभर २९ हजार ४९९ घरमा आधारभूत खानेपानीको पहुँच पुगेको पौडेल बताउछन् । आयोजनाले ९६ प्रतिशत घरमा आधारभूत खानेपानीको पहुँच पुर्याउने लक्ष्य लिएको छ ।
प्रदेश सरकारको बजेटबाट अन्नपूर्ण गाउँपालिका वडा नं. ८ मा थावन खानेपानी योजना, रघुगङ्गा गाउँपालिका वडा नं. १ मा बेगखोला खानेपानी योजना, बेनी नगरपालिका नं. ९ मा गलेश्वर पम्पिङ खानेपानी योजना, निलदह खानेपानी योजना र वडा नं ४ मा सिङ्गा खानेपानी योजना सम्पन्न भई घर–घरमा धारा निर्माण गरिएका छन् ।
यस्तै अन्नपूर्ण गाउँपालिका वडा नं. ६ मा घारा खानेपानी योजना सम्पन्न भएको छ । मङ्गला गाउँपालिका वडा नं. २ मा हिदी खानेपानी योजना, वडा नं १ मा कुहुँ खानेपानी योजना र मालिका गाउँपालिका वडा नं. २ रुममा सेतखोला खानेपानी योजना सम्पन्न भएको इञ्जिनियर राजेश उलकले जानकारी दिए ।
यसैगरी बेनी नगरपालिका वडा नं. २ मा ज्यामरुककोट अर्जम रत्नेचौर खानेपानी योजना र मालिका गाउँपालिका वडा नं. ५ मा देवीस्थान खानेपानी योजना सम्पन्न भएको छ । मङ्गला गाउँपालिका वडा नं. १ मा भर्जुला सल्यान खानेपानी योजना र अन्नपूर्ण गाउँपालिका वडा नं. ६ घारामा नेपाने खोनेपानी योजना सम्पन्न भएको छ ।