२ महिना बित्दा पनि जनप्रतिनिधिले बुझाएनन् चुनावी खर्चको विवरण
पोखरा
स्थानीय तहको निर्वाचन, २०७९ मा विभिन्न राजनीतिक दलबाट उम्मेदवार बनेका अधिकांश जनप्रतिनिधिले दुई महिना बित्दा पनि चुनावी खर्चको विवरण बुझाएका छैनन् । निर्वाचनको मत परिणाम घोषणा भएको ३० दिनभित्र निर्वाचन खर्च विवरण बुझाइसक्नुपर्ने कानुनी प्रावधान भए पनि उनीहरूले हालसम्म विवरण बुझाएका छैनन् ।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा तनहुँबाट एक हजार ६ सय ३७ जनाले विभिन्न पदमा उम्मेदवारी दिएका थिए । हालसम्म चार सय एक जनप्रतिनिधिले चुनावी खर्चको विवरण बुझाएका छन् भने एक हजार दुई सय छत्तीसले अझै बुझाएका छैनन् ।
कार्यालयले गत जेठ मसान्तसम्म निर्वाचन खर्चको विवरण बुझाउन सार्वजनिक सूचना जारी गरेको थियो । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी धीरेन्द्र शाहीका अनुसार खर्च विवरण नबुझाउनेमा अधिकांश पराजित र केही निर्वाचित उम्मेदवार छन् ।
निर्वाचन आयोगले खर्चको विवरण बुझाउने उम्मेदवारको तथ्याङ्क पठाउन पटक–पटक ताकेता गरेपछि प्राप्त भएकाको मात्रै तथ्याङ्क पठाइएको निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले बताए ।