तनहुँको आँबुखैरेनीमा कोरोना प्रभावितलाई राहत वितरण सुरु
पोखरा
तनहुँको आँबुखैरेनी गाउँपालिकाले कोभिड–१९ बाट प्रभावित अति विपन्नलाई राहत वितरण सुरु गरेको छ ।
सङ्घीय सरकारको सहयोगमा गाउँपालिकाले ६ वटै वडाका कोभिड–१९ प्रभावित परिवारलाई रु २७ लाख वितरण गरेको हो । आर्थिक वर्ष २०७८÷७९ मा सङ्घीय सरकारबाट प्राप्त राहत रकम वितरण गर्न थालिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिए ।
उनका अनुसार गाउँपालिकाभित्रका दुई सय ७० व्यक्तिलाई रु दश हजारका दरले राहत वितरण गरिनेछ । कोभिड–१९ बाट प्रभावित भई रोजगारी गुमाएका र समस्यामा परेका व्यक्ति छनोट गरी रकम वितरण गर्न थालिएको उपाध्यायले बताए ।
उपाध्यायका अनुसार वडा नम्बर ३ र ४ का २० जनालाई बिहीबार रु दश हजारका दरले रकम वितरण गरिएको छ । बुधबार वडा नम्बर ५ का ५० जनालाई वितरण गरिएको थियो ।
वडा नम्बर १ का ८७, २ का ५९, ३ का ६१, ४ का ९, ५ का ५२ र वडा नम्बर ६ का एकजनालाई राहत वितरण गरिनेछ ।