पहिरोले पूर्व नवलपुरको पहाडी क्षेत्रको बाटो अवरुद्ध
पोखरा
अविरल वर्षाका कारण झरेको पहिराले नवलपरासी पूर्व नवलपुरको पहाडी क्षेत्रको बाटो अवरुद्ध भएको छ ।
नवलपुरको दलदले–कुमसोत– पोखरी हुँदै पहाडी गाउँपालिका बौदिकाली र बुलिङटार जाने बाटो पहिराले अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताए ।
कुमसोत–पोखरी खण्डअन्तर्गत हुप्सेकोट गाउँपालिका–५, पाङ्गे्रमा पहिरो खसेका कारण बाटो पूर्ण रुपमा अवरुद्ध भएको छ, पानी परिरहेको र पहिरो झर्ने क्रमसमेत नरोकिएकाले तत्काल यो सडकखण्ड सञ्चालन हुने सम्भावना नरहेको उनको भनाइ थियो ।
जिल्लाको पहाडी क्षेत्रअन्तर्गत पर्ने बौदिकाली गाउँपालिका र बुलिङटार गाउँपालिकालाई सदरमुकामसँग जोड्ने सडक पहिराले अवरुद्ध भएपछि दुई गाउँपालिकाको सदरमुकामसँगको यातायात सम्पर्क टुटेको छ ।
यो सडकखण्डको स्तरोन्नति हुन नसक्दा वर्षाको समयमा पहाडी क्षेत्रको यातायात सम्पर्क सदरमुकामसँग टुट्दै आएको छ । पाङ्गे्रसहित पोखरी-डेढगाउँ र पोखरी–बुलिङखण्डमा समेत यातायात सञ्चालन कठिन भएको छ ।
अन्य स्थानमा समेत ठाउँठाउँमा साना साना पहिरो झरेको छ ।