अरिङ्गालको टोकाइबाट बुबाको मृत्यु, ६ बालबालिकाको बिचल्ली
पोखरा
अरिङ्गालको टोकाइबाट बुबाको मृत्यु भएपछि पर्वतको कुश्मा नगरपालिका-१, पाङ नेवारका ६ बालबालिकाको बिचल्ली भएको छ ।
गत साउन १२ गते स्थानीय ३५ वर्षीय श्रीराम परियारको अरिङ्गालको टोकाइबाट मृत्यु भएपछि उनका सन्तानको बिचल्ली भएको हो । उनले ज्याला मजदुरी गरी परिवारको गुजारा चलाउँदै आएका थिए । आय आर्जनका लागि गोला पोल्न जाँदा परियारलाई अरिङ्गालले टोकेको थियो ।
बालबालिकाले आर्थिक अभावकै कारण सामुदायिक विद्यालयमा समेत नियमित पढ्न पाइरहेका छैनन् । उनीहरु सबै १२ वर्षमुनिका बालबालिका रहेका छन् । परियारका दुई श्रीमती फूलमाया र नैनकलीको पनि कमाउने कोही नहुँदा बिचल्ली छ ।
स्थानीय पाङ युवा क्लबले परियार परिवारको सहयोगका लागि अभियान नै सञ्चालन गरेको अध्यक्ष जयराम सुवेदीले बताए ।