तनहुँको पश्चिम खण्डमा मुआब्जा वितरण सुरु
पोखरा
मुग्लिन–पोखरा सडक विस्तारका क्रममा तनहुँको पश्चिम खण्डमा मुआब्जा वितरण सुरु गरिएको छ ।
सडक विस्तार योजनाअन्तर्गत पश्चिम खण्डको म्याग्दे गाउँपालिकाको जामुनेदेखि शुक्लागण्डकी नगरपालिकाका कोत्रेसम्मका संरचना हटाउनका लागि मुआब्जा वितरण सुरु गरिएको हो ।
उक्त खण्डका एक सय ३८ संरचना हटाउनुपर्नेमा ४२ घरका लागि ४० लाख मुआब्जा रकम वितरण गरिएको सडक योजनाका प्रमुख अमित श्रेष्ठले जानकारी दिए । एक सय ३८ संरचना हटाउनका लागि दुई करोड ४५ लाख ३९ हजार छ सय ३३ मुआब्जा वितरण गरिने उनले बताए ।
व्यक्तिगत तथा सार्वजनिक घर टहरा, पर्खाललगायत संरचना हटाउन मुआब्ब्जा वितरण थालिएको बताइएको छ । सडकको मापदण्ड २५/२५ मिटर दायाँबायाँको क्षेत्रभित्र निर्माण गरिएका व्यक्तिगत तथा सार्वजनिक घरटहरा, पर्खाल लगायतका संरचना हटाउनका लागि आयोजना प्रभावितलाई क्षतिपूर्तिबापत मुआब्जा वितरण गरिएको श्रेष्ठले बताए ।
तनहुँका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित उपसमितिले म्याग्देको जामुनेदेखि शुक्लागण्डकीको कोत्रेसम्मका एक सय ३८ संरचनाको क्षतिपूर्ति रकम वितरण गर्ने निर्णय गरेको थियो ।
एसियाली विकास बैंकको ‘सेफगार्ड पोलिसी स्टेटमेन्ट’ अनुसार आयोजना प्रभावितलाई क्षतिपूर्ति रकम दिएर मात्र हटाउनुपर्ने व्यवस्था भएकाले मुआब्जा वितरण सुरु भएको आयोजना प्रमुख श्रेष्ठले बताए ।