व्यास नगरपालिकाद्वारा शुल्क नलाग्ने कल सेन्टर सञ्चालनमा
पोखरा
व्यास नगरपालिकाले भदौ १ गते (आज) देखि कल सेन्टर सञ्चालनमा ल्याएको छ ।
नगरवासीको गुनासो सुन्नका लागि नगरपालिकाले शुल्क नलाग्ने कल सेन्टर सञ्चालनमा ल्याएको हो । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा कल सेन्टर सञ्चालन गर्ने उल्लेख गरिएको थियो । नगरवासीको गुनासो सुनुवाइका लागि कल सेन्टर सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिए ।
नगरपालिकाले सबै वडामा सेवाग्राहीलाई आवश्यक निवेदन, फोटोकपी सेवा निःशुल्क प्रदान गर्ने निर्णय गरेको छ । सेवा लिन आउँदा फोटोकपी गर्नका लागि शुल्क तिर्नुपर्ने व्यवस्थाको अन्त्यका लागि वडा कार्यालयबाटै निःशुल्क सेवा दिइने नागिलाले बताए । नगरपालिकाले चालु आर्थिक वर्षमा नै नगरपालिकाको सेवा प्रवाहलाई थप गुणस्तरीय बनाउन र छिटोछरितो सेवा प्रवाह गर्न सबै वडालाई प्रविधिमैत्री गराउने भएको छ ।