एचआईभी संक्रमितलाई मासिक भत्ता दिने निर्णय
पोखरा
लमजुङको मर्स्याङ्दी गाउँपालिकाले पालिकाभित्रका एचआईभी संक्रमितलाई मासिक एक हजार भत्ता दिने निर्णय गरेको छ ।
संक्रमितलाई पोषणमा कमी हुन नदिन सामाजिक सुरक्षा भत्ताको रूपमा मासिक भत्ता दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए ।
गाउँपालिका स्वास्थ्य शाखा प्रमुख लुल घलेका अनुसार पालिकाभित्र १६ जना एचआईभी संक्रमित रहेका छन्। उनीहरूमध्ये ५ जना पुरुष र ११ जना महिला छन्।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द्र अर्यालले संक्रमितहरूले भत्ता बुझ्नका लागि निवेदनको साथमा नागरिकताको प्रतिलिपी र एचआइभी संक्रमित पुष्टी हुने कागजात पेस गर्नुपर्ने बताए ।