निर्वाचनका कारण नवौँ राष्ट्रिय खेलकुद स्थगन हुँदैन: मुख्यमन्त्री पोखरेल
पोखरा
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गराउने क्रममा आइपर्ने समस्या र कठिनाइलाई समाधान गर्नका लागि साझा संयन्त्र बनाउनुपर्ने बताएका छन्।
आगामी असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदैछ । प्रतियोगिता तयारीका बारेमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले शनिबार साँझ पोखरामा आयोजना गरेको उच्चस्तरीय छलफल कार्यक्रममा मुख्यमन्त्री पोखरेलले यस्तो बताएका हुन् ।
छलफलमा युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका कारण नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगन नहुने जानकारी दिए। उनले निर्वाचन भन्दा एक महिनाअघि नै राष्ट्रिय खेलकुद सम्पन्न हुने हुँदा निर्वाचन कार्यतालिकालाई असर नपार्ने बताए ।
उनले भने, ‘राष्ट्रिय खेलकुदका लागि सरकारले बजेट निकासा गरिसकेको छ । यसका लागि सरकारको खर्चसमेत भइसकेको छ । निर्वाचन आयोगसँग समेत परामर्श गरेर राष्ट्रिय खेलकुद तय गरिएकाले यसलाई निर्वाचनले असर गर्दैन, आयोजक प्रदेशका हिसाबले तपाईँहरु तयारीमा लाग्नुहोस् ।’
खेलकुदमन्त्री गहतराले प्रतियोगिताको तयारी, खेलाडी र खेल खेल्ने ठाउँको व्यवस्थापकीय आधारभूत दायित्व केन्द्र सरकारको रहे पनि प्रदेश सरकारले आफ्नो प्रदेशको टोली सक्षम र बढीभन्दा बढी पदक जित्ने गरी तयारीका काम गर्नुपर्ने बताउनुभयो । उनले भने, ‘गण्डकी प्रदेशमा ३९ वर्षपछि हुन लागेको राष्ट्रिय खेलकुद यस क्षेत्रका लागि महत्वपूर्ण अवसर हो ।’