पोखरा महानगरपालिकाद्वारा ३५ दिनभित्र अवैध संरचना हटाउन निर्देशन
पोखरा
पोखरा महानगरपालिकाले भूमिगत तला ३५ दिनभित्र पार्किङ प्रयोजनका लागि खुला गर्न निर्देशन दिएको छ । पोखरा महानगरपालिकाले एक सूचना जारी गर्दै महानगरले ३५ दिनभित्र अवैध संरचना हटाएर पार्किङ प्रयोजनको लागि लगाउन घरधनीलाई भनेको छ ।
महानगर क्षेत्रभित्र पार्किङ प्रयोजनका लागि नक्सा स्वीकृत गरी निर्माण भएका भूमिगत तलासहितका भवनहरूको भूमिगत तलालाई पार्किङमा प्रयोग नगरी अन्य प्रयोगमा ल्याएकाहरू खाली गरेर पार्किङ प्रयोजनमा ल्याउन भनेको हो । ३५ दिनभित्रमा खाली गरेर पार्किङको रूपमा प्रयोगमा नल्याए कानून बमोजिम कारवाही हुने चेतावनी दिएको छ ।
महानगर प्रमुख धनराज आचार्यले केही दिन अगाडि पोखरामा रहेका अन्डरग्राउन्ड पार्किङलाई पार्किङ कै रूपमा प्रयोग गर्न आग्रह गरेका थिए । महानगरको आग्रहलाई अटेर गरे महानगर आफैले हटाउने र त्यस बापतको क्षतिपूर्तिसमेत सम्बन्धित व्यवसायीहरूबाट असुल उपर गरिने उनको चेतावनी थियो ।