नेपालले विश्व बैंकबाट १२ अर्ब ७५ करोड बराबरको सहुलियतपूर्ण ऋण लिने
पोखरा
विश्व बैंकले नेपालको हरित, उत्थानशील र समावेशी विकास (ग्रीड) का लागि १२ अर्ब ७५ करोड बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ ।
अर्थ मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा सहुलियतपूर्ण ऋण सम्झौतामा अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका सहसचिव ईश्वरीप्रसाद अर्याल र माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका सञ्चालन प्रबन्धक लाडा स्ट्रेलकोभाले हस्ताक्षर गरेका हुन् ।
बजेटरी सहायताका रुपमा उपलब्ध हुने सो सहयोगले नेपाललाई हरियाली, जलवायु उत्थानशील र समावेशी विकासतर्फ अग्रसर हुन सघाउने विश्वास लिइएको छ ।
नेपालको ग्रिड मार्गतर्फको प्रस्थान भनेको यस चुनौतीपूर्ण समयका लागि अवसरले भरिपूर्ण आवश्यक रणनीतिक कदम भएको विश्व बैंकका सञ्चालन प्रबन्धक स्ट्रोलकोभाले बताए ।
कोभिडबाट आर्थिक पुनरुत्थानका साथै हाल विद्यमान विपद, जलवायु तथा वातावरणीय जोखिमलगायत दिनप्रतिदिन जटिल बन्दै गएको नेपालको विकाससम्बन्धी चुनौतीको माझमा , गरिबी निवारण गर्दै देशको समृद्धिका लागि भइरहेको प्रगतिलाई विस्तार तथा संरक्षण गर्न यसले सघाउने सहसचिव अर्यालले बताए ।