अव्यवस्थित तार व्यवस्थापन गर्न वालिङ नगरपालिकाको निर्देशन
पोखरा
स्याङ्जाको वालिङ नगरपालिकाले बजारभित्रका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन दिएको छ ।
वालिङ बजार हुँदै जाने पोखरा–सुनौली सिद्धार्थ राजमार्गसहित वालिङ नगरपालिकाभित्रका मुख्य बजार क्षेत्रहरूमा विद्युत्, टेलिफोन, केबुल तथा इन्टरनेटका तार अव्यवस्थित भएको भन्दै नगरपालिकाले सम्बन्धित पक्षसँगको छलफलपछि निर्देशन दिएको हो ।
नगरपालिका र सेवा प्रदायक कम्पनीबीचको छलफलपछि असोजको दोस्रो साताभित्रमा अव्यवस्थित तार हटाएर सहयोग गर्न आग्रह गरिएको नगरप्रमुख कृष्ण खाणले बताए । “सेवा प्रदायकसँग एक किसिमको छलफल भएको छ, आवश्यकमात्रै तार राख्ने र अनावश्यक हटाउने र त्यसलाई व्यवस्थित गर्न लागिएको हो”, उनले भने, “तोकिएको अवधिमा सेवा प्रदायकले हटाएर सहयोग गरेन भने नगरपालिकाले तार काटिदिन्छ ।”
प्रयोगमा आएका भन्दा नआएका तार धेरै भएकाले पनि बजारको सौन्दर्यमा असर गरेको महसुस गरी सम्बन्धित सेवाप्रदायक कम्पनीलाई तार हटाउन निर्देशन दिइएको नगरप्रमुख खाणले बताए ।