बाढीपहिरोले लमजुङ ढोडेनीबेंसीको १० घर परिवार विस्थापित
पोखरा
बाढीपहिरोले लमजुङको दोर्दी गाउँपालिका–६, ढोडेनीबेंसीको १० घरका परिवार विस्थापित भएका छन् । वडाअध्यक्ष नन्दराज गुरुङका अनुसार २ घरमा पूरै क्षति भएको छ ।
अन्य २ घरमा लेदो पसेको छ । ४ घर जोखिममा छन् । बुधबार रातिदेखिको अविरल वर्षाले १० घरपरिवार विस्थापित भएको उनले बताए । उनका अनुसार करिब डेढसय मिटरमाथि पहराबाट पहिरो बगेको छ । पहिरोले धानबाली पुरिदिएको छ । घरको लत्तकपडा पुरेको छ । खाद्यान्न भने जोगाएको उनले बताए । गाउँपालिका अध्यक्ष युवराज अधिकारीले पहिरोले केही घरमा क्षति पुगेको र केही घरलाई जोखिममा पारेको बताए ।
‘स्थानीय, जनप्रतिनिधि मिलेर पीडितको उद्धार गरिसकेका छौं । अब सडक खुलाउने र विस्थापितलाई राहतको काम हुन्छ,’ उनले भने । पहिरोले एउटा बोर्डिङ स्कुलका बसमा पनि क्षति पुर्याएको छ । विद्युत्का पोलहरु पनि ढालेका छन् ।दोर्दी गाउँपालिका केन्द्र नौथर शेराबाट सिमीताँजे जाने उक्त सडक बन्द भएपछि ३ वटा ठूला जलविद्युत् आयोजना प्रभावित भएका छन् ।
पहिरो नजिकै १२ मेगावाटको दोर्दी १ आयोजना, त्यसमाथि २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ र ५४ मेगावाटको सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजना निर्माणाधीन छन् । सडकमा पहिरो खसेपछि ती आयोजना साथै माथिल्लो क्षेत्रको सिमी, ताँजेलगायतका गाउँ प्रभावित भएका छन् ।
यस्तै, सुन्दरबजार नगरपालिका ४, दुराडाँडामा पहिरोले धन्सार भत्किँदा एउटा भैंसी र एउटा पाडो मरेको छ । वडा कार्यवाहक अध्यक्ष देउराज गुरुङका अनुसार अर्चल्यानीको पोखरीटाउका भन्ने स्थानमा डिलबहादुर भुजेलको धन्सार पहिरोले भत्काउँदा २ वटा पशुचौपयमा क्षति पुगेको हो । एउटा लैनो भैंसी र एउटा गोरु घाइते अवस्थामा उद्धार गरिएको उनले बताए ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्पसपेक्टर जगदिश रेग्मीले दोर्दी गाउँपालिका–६, ढोडेनीमा ४ घरमा पहिरोले क्षति पुर्याएको र ६ घर जोखिमा पारेपछि उनीहरु सुरक्षित ठाउँमा बसेको बताए । सुन्दरबजार नगरपालिका ४ मा २ वटा चौपाया मरेको र २ वटाको घाइते अवस्थामा उद्धार गरिएको बताए । उनका अनुसार मानवीय क्षति भएको छैन ।