लमजुङका किसान अलैंची टिप्नमा ब्यस्त
पोखरा
लमजुङका अलैंची किसान अलैंची टिप्न ब्यस्त छन् । जिल्लाको सात सय मिटरदेखि १२ सय मिटर उचाइमा लगाइएको अलैँची टिप्न सुरु गरिएको हो।
यतिबेला जिल्लाको बाहुनडाँडा, ताराचोक शेरा, कुप्लिङ र दुराडाँडालगायतका ठाउँमा अलैंची टिप्ने व्यस्तता छ। जिल्लामा लगाइएको डम्बरशाही, जिर्मले र साउने जातको अलैंची टिप्न सुरु गरिएको नेपाल अलैंची व्यावसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष अजय तामाङले बताए।
भुलभुले, लुदी, छिनखोलासहित बाँझाखेत, घाम्राङ, घनपोखरा, खुदी, गौँडा, इलमपोखरी, दुधपोखरी, बन्सार, ढोडेनी, फलेनीलगायतका पाखाहरुमा व्यवसायिक अलैंची खेति गरिएको छ । लमजुङमा एक हजार पाँच सय हेक्टर क्षेत्रफलमा अलैंची खेती विस्तार गरिएको छ। जिल्लामा १५ हजार भन्दा बढी कृषकले व्यवसायीक अलैंची खेती गर्दै आएका छन्।
लमजुङको अलैंची गुणस्तरीय हुने भएकाले जिल्ला बाहिरका अलैंची कृषकसहित भुटानका अलैंची व्यापारीसमेत अलैंची हेर्न लमजुङ आउने गर्दछन् ।