बागलुङमा उद्योग तथा व्यवसाय थपिने क्रम बढ्दै
पोखरा
बागलुङ जिल्लामा उद्योग तथा व्यवसाय थपिने क्रमले तीव्रता पाएको छ । आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा चार सय १८ नयाँ उद्योग थपिएका छन् ।
थपिएका यस्ता अधिकांश उद्योगमा कृषि तथा वन पैदावर र हस्तकलामा आधारित भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । एक वर्षको अवधिमा जिल्लामा उद्योगतर्फ एक सय ५० र वाणिज्यतर्फका दुई सय ६८ उद्योग तथा व्यवसाय दर्ता दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय बागलुङका प्रमुख गुमादेवी शर्माले जानकारी दिइन् ।
शर्माका अनुसार जिल्लामा एक सय ५० साना तथा घरेलु उद्योगले वस्तुको उत्पादन र बजारीकरणमा जोड दिने गरी दर्ता भएका छन् भने सोही आर्थिक वर्षमा दुई सय ६८ वस्तुको खरिद तथगा बिक्री, प्याकेजिङलगायतको कामका लागि दुई सय ६८ उद्योग दर्ता भएका हुन् ।
खासगरी बागलुङवासीले निजी तथा कृषि प्रवद्र्धनात्मक उद्योग दर्तातर्फ आकर्षित भएको पाइएको शर्माको भनाइ छ । शर्माका अनुसार उद्योग दर्ता, वाणिज्य दर्ता, नामासरी, नवीकरण, ठाउँसरीबापत गत आवमा कार्यालयले रु २६ लाख ९४ हजार पाँच सय २५ राजस्व रकम सङ्कलन गरेको छ ।
यस्तै उद्योगतर्फ रु नौ लाख ६३ हजार छ सय ५०, वाणिज्यतर्फ राजस्व रु १६ लाख ८० हजार र तालिमका क्रममा उत्पादित वस्तु बिक्रीबाट रु ५० हजार राजस्व सङ्कलन भएको छ ।