कास्कीका वडाध्यक्षहरुका पोखरामा तालिम शुरु
पोखरा
कास्कीका वडाध्यक्षहरुका लागि सोमबारदेखि पोखरामा तालिम शुरु भएको छ ।
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमको आयोजना तथा जिल्ला समन्वय समिति कास्कीको समन्वयमा तालिम आयोजना गरिएको हो ।
तालिम शुभारम्भ गर्दै जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले तालिमले जनप्रतिनिधिहरूलाई सिक्ने र सिकाउने अवसर प्रदान गर्नुका साथै जनताका कामलाइ छिटोछरितो र विधिसम्मत तरिकाले सम्पन्न गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
उनले विकास र समृद्धिका निम्ति आवश्यक दक्षता बढाउनका लागि तालिम महत्वपूर्ण हुने स्पष्ट पारे ।
तालिममा सहभागी वडाध्यक्षहरुलाई संवैधानिक र कानूनी अधिकार, जिम्मेवारी तथा योजना निर्माण सम्बन्धित प्रशिक्षण दिइनेछ । महानगरभित्रका वडाध्यक्षहरु सहभागी तालिम आज समापन हुँदैछ ।यसैबीच भदौ २२ र २३ गते कास्कीका चार गाउँपालिकाका वडाध्यक्षहरुलाई तालिम प्रदान गरिने जिल्ला समन्वय अधिकारी नवराज बरालले जानकारी दिए ।-gandakivoice.com