ढोरपाटन सिकार आरक्षमा बँदेलको पनि सिकार गर्न पाइने 



पोखरा

वर्षेनी दुई याममा नाउर र झारलको वैधानिक सिकार हुँदै आएको ढोरपाटन सिकार आरक्षमा अबदेखि बँदेलको पनि सिकार गर्न पाइने भएको छ । नेपाली सिकारीलाई लक्षित गरी बँदेल सिकार खुला गर्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले तयारी थालेको हो ।

आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार एउटा याममा ११ बँदेलको सिकार गराइनेछ । “वर्षमा २२ बँदेलको सिकार कोटा निर्धारण गरिएको छ, बोलपत्रमार्फत छानिएका सिकार कम्पनीले सिकार खेलाउन पाउँछन्”, उनले भने, “विशेष गरी नेपाली सिकारीलाई लक्ष्य गरी बँदेलको सिकार खुलाउन लागिएको हो, यसबाट आन्तरिक पर्यटन प्रवर्द्धन हुने विश्वास छ ।”

नाउर र झारलको महँगो सिकार नेपाली सिकारीको पहुँचमा छैन । त्यसका लागि विदेशी पेसेवर सिकारी भने लाखौँ खर्चन तयार हुन्छन् । आरक्षमा अहिलेसम्म कोही पनि नेपाली वैधानिक सिकारका लागि पुगेका छैनन् । बँदेलको व्यवस्थित सिकारले स्थानीय बासिन्दा र आरक्षबीच सम्बन्ध बलियो हुने प्रमुख संरक्षण अधिकृत कँडेलले बताए।

आरक्षले प्रारम्भिक अध्ययनपछि वार्षिक १६ देखि २३ वटासम्म बँदेलको सिकार गराउन सकिने सुझाव विभागमा पठाएको थियो । सोही आधारमा विभागले दुई याममा ११/११ बँदेलको सिकार कोटा तोक्ने तयारी गरेको हो ।

प्रमुख संरक्षण अधिकृत कँडेलले विस्तृत अध्ययन र बँदेलको गणना गरेर मात्र सिकार कोटा तोकिने बताए। नाउर र झारलको हरेक पाँच पाँच वर्षमा गणना गर्ने गरिन्छ । गणनाको नतिजालाई हेरेर विभागले सिकारको कोटा तोक्ने गर्छ ।

यस वर्षलाई बँदेलको बढी बसोबास रहेका सिकार ‘ब्लक’मा चारदेखि पाँच र थोरै भएकामा एकदेखि दुईसम्म मात्र सिकार गराइने भएको छ । आरक्षका सातवटै सिकार ‘ब्लक’मा बँदेल पाइन्छ । फागुने, बार्से र सुर्तिबाङ ‘ब्लक’मा बँदेल धेरै पाइने सिकार कम्पनी ट्र्याक एण्ड ट्रेल्र्सका दीपक थापाले बताए।

रतुवा मृग, चरालगायत अरू वन्यजन्तु र पन्छीकोसमेत सिकार गर्न पाइने भए पनि अहिलेसम्म माग नआएको आरक्ष कार्यालयले जनाएको छ । विभागले केही दिनमै चालु आवको पहिलो सिकार यामका लागि दरभाउपत्र मागको सूचना निकाल्दैछ । विभागले कम्पनीबीच प्रतिस्पर्धा गराई सिकारको अनुमति दिने गर्छ ।

चार वर्षअघि (फागुन–वैशाख) को याममा एउटा नाउर सिकारको रु तेह्र लाख ५१ हजार र झारल सिकारको रु तेह्र लाख ५० हजारसम्म राजश्व बुझाउन कम्पनी तयार भएका थिए । आरक्षमा सुर्तिबाङ, फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ र सुनदह गरी सात सिकार ‘ब्लक’ छन् ।

सिकारका लागि रुस, अमेरिका, क्यानाडा, नर्वे, जर्मनीलगायत देशबाट पेसेवर सिकारी ढोरपाटन आउँछन् ।सौखिन र खर्चिला विदेशी सिकारीको रोजाइमा ढोरपाटन पर्ने गरेको छ । सिकारीहरू हेलिकप्टरबाट आरक्षमा पुग्छन् । सिकारी, आरक्ष कार्यालय तथा कम्पनीका प्रतिनिधि, भरिया र पथप्रदर्शकसहितको टोलीले १५ दिन आरक्षमा बिताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja