गाईभैँसी पाल्नेको सङ्ख्या बढेसँगै पर्वतमा दूध उत्पादनमा वृद्धि
पोखरा
व्यावसायिकरूपमा गाई भैँसी पाल्ने कृषकको सङ्ख्या बढेसँगै पर्वतमा दूध उत्पादनमा वृद्धि भएको छ । लामो समय वैदेशिक रोजगारीमा गएर भनेजस्तो कमाई नभएपछि गाउँ फर्केर व्यावसायिक पशुपालनमा लाग्ने युवाको सङ्ख्या बढेको हो ।
ग्रामीण भेगसम्म सडकको सहज पहुँच, यातायातको सर्वसुलभता, उचित मूल्य, स्थानीय तहको उत्पादनमा आधारित अनुदान, घाँसपरालको उपलब्धता लगायतले किसानलाई व्यावसायिक पशुपालनमा सहज बनाएको छ ।
त्यसका कारण व्यावसायिक पशुपालनमा युवाको आकर्षण बढिरहेको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कुश्माका अनुसार हाल दैनिक २५ सय लिटर हाराहारी दूध बाहिरका जिल्लामा निर्यात हुँदै आएको छ ।
हाल कुश्मा बजारमा दूधको मूल्य थोकमा ७० देखि ८० तथा खुद्रा ९० देखि एक सय २० मा बिक्री हुँदै आएको छ । दूधालु गाईभैँसीले एकै बेतमा करिब एक लाख मूल्य बराबरको दूध दिने भएपछि अधिकांश वैदेशिक रोजगारीबाट फर्किएका युवाको पशुपालनमा आकर्षण छ ।
कुश्मा–९ का शिव ढकालले गाईको दूधबाटै मासिक रु डेढ लाखभन्दा बढी आम्दानी गर्दै आएको बताए । वैदेशिक रोजगारीमै जाने तयारी गरेका ढकालले कोरोनाका कारण भएको लकडाउनले जान नपाएपछि व्यवसाय बढाएको सुनाए ।
विज्ञ केन्द्रका अनुसार गुणस्तरीय दूधको माग पर्वतलगायत छिमेकी जिल्लामा बढ्दो छ । पछिल्लो तथ्यांकअनुसार कुश्मासहित जिल्लाका मुख्य बजारमा दूधको माग दैनिक ४५ सयदेखि पाँच हजार लिटरसम्म छ ।
त्यसबाहेक पनि दैनिक १७ सय लिटर जिल्लाबाहिर बिक्री हुनुले जिल्लाको अर्थतन्त्रमा पशुपालनले अधिक योगदान गरेको केन्द्र प्रमुख पौडेलको दाबी छ ।