पोखरा महानगरले आफ्नै भवनमा चलायो डोजर
पोखरा
पोखरा महानगरपालिकाले आफ्नो स्वामित्वमा रहेका दुई वटा भवनमा डोजर चलाएको छ । पोखरा–९ महेन्द्रपुलस्थित महानगरका भवन भत्काउन आज डोजर चलाइएको हो । महानगर प्रमुख धनराज आचार्य, वडा नं ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी सहित नगर प्रहरीसहितको टोलीले भवनका सटर भत्काउन सुरु गरेको हो ।
महेन्द्रपुलबाट रानीपौवा जाने सडकको वारिपारि रहेका सार्वजनिक पुस्तकालय र आर्ट ग्यालरी रहेका दुई तलाका भवन भत्काएर सार्वजनिक उद्यान बनाउने महानगरको योजना छ । महानगरले दिउँसो ट्राफिक जाम हुने भएकाले रातको समयमा भवन भत्काएर खाली गर्ने काम जारी रहने जनाएको छ ।
महानगरका यी दुई दुई भवन ४० वर्षअघि निर्माण गरिएका हुन् । भवनका तला–तलामा ३० सटर महानगरले भाडामा लगाए पनि नियमित भाडा नउठेको र बिचौलियाले फाइदा लिएको महानगरले जनाएको छ । भाडामा लगाइएका सटरलाई हट्न महानगरले सात दिनको दुई पटक र पुनः ३५ दिने सूचना दिएर आग्रह गरेको थियो । सूचनाको म्याद सकिएको भोलिपल्ट डोजर चलाउन सुरु गरिएको हो ।
वडाध्यक्ष मर्सानीले भवनमा व्यापार व्यवसाय गर्दै आएका व्यापारी र अन्य प्रयोजनका लागि बसेका सबैलाई त्यहाँबाट हट्न सार्वजनिक सूचना जारी प्रक्रिया पूरा गरेर भत्काउन सुरु गरिएको बताए।