कर्तव्य ज्यान मुद्दामा फरार रहेका तनहुँका एक प्रतिवादी पक्राउ
पोखरा
जिल्ला प्रहरी कार्यालय तनहुँले कर्तव्य ज्यान मुद्दामा फरार रहेका भानु नगरपालिका वडा नं. ८ पुर्कोट घर भएका ४१ वर्षीय अनुप श्रेष्ठलाई २० वर्षपछि पक्राउ गरेको छ ।
निजलाई नवलपरासी (बर्दघाट सुस्तापूर्व) बाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए । पक्राउ परेका श्रेष्ठविरुद्ध शुक्रबार तनहुँ अदालतबाट छ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवन र नवलपरासी (बर्दघाट सुस्तापूर्व) को समन्वयमा निजलाई गैडाकोट नगरपालिका वडा नं. २ स्थित राजमार्गमा बाप्र०३-००१ह १५६८ नंको टेम्पो चलाइ हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको हो ।
विसं २०६० साउन १८ गते भानु नगरपालिका-६ बस्ने ५५ वर्षीय चाउरे श्रेष्ठलाई घातक हतियार कोदालो प्रयोग गरी प्रतिवादीले घाइते बनाएका थिए । घाइते श्रेष्ठको उपचारका लागि पोखरा लैजाने क्रममा बाटोमा मृत्यु भएको थियो । घटनापश्चात प्रतिवादी फरार रही लुकीछिपी बस्दै आएका थिए ।