पोखराको सेती गर्ज पार्कमा एक निजी कम्पनीको अवैध असुली
पोखरा
पोखरा महानगरपालिका–१६ स्थित केआईसिंह पुलसँग जोडिएको सेती गर्ज पार्कमा एक निजी कम्पनीले अवैध शुल्क उठाइरहेको छ । उक्त पार्कमा टिकटमार्फत पर्यटकसँग शुल्क उठाउन भण्डार थोडुङ निर्माण सेवाले ठेक्का पाएको छ ।
दुई वर्षका लागि ठेक्का पाएको उक्त कम्पनीसँगको सम्झौता गत पुसमै सकिएको हो । तर अहिले पनि उसले पर्यटकसँग टिकट शुल्क उठाइरहेको छ । महानगरले ०७६ पुसमा २ वर्षका लागि थोडुङसम्म ६६ लाख रुपैयाँमा पर्यटकसँग टिकटवापत शुल्क उठाउन सम्झौता गरेको थियो ।
पार्क प्रवेश गर्न विदेशी पर्यटकका लागि ५० रुपैयाँ, आन्तरिक पर्यटकसँग २५ र विद्यार्थीसँग २० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । महानगर राजश्व शाखाले कोभिड महामारीको अन्तर्गतको ४ महिना छुट दिएर जेठ १३ गते नै निरीक्षण शाखा र वडा कार्यालयलाई शुल्क उठाउन बन्द गर्न पत्राचार गरेको थियो ।
तर, ३ महिना बितिसक्दासमेत शुल्क उठाउन बन्द भएको छैन ।दोस्रो पटक भदौ ७ गते पुनः सोही व्यहोरा दोहो¥याउँदै वडा र निरीक्षण शाखालाई निर्देशन दिएको थियो ।
तर, शुल्क उठाउन बन्द नभएपछि निरीक्षण शाखा र वडा कार्यालयको नाममा मंगलबार पुनः पत्राचार गरेको छ । ‘पहिले पनि पटकपटक चिठी पठाइसकेका छौंैं । तर, कार्यान्वयनमा कडाइ गरेनन् । यसपटक हामी बन्द गराएरै छोड्छौं । कडा निर्देशन दिइसकेका छौं’, महानगर राजश्व शाखा प्रमुख झंकनाथ पौडेलले भने ।