बाघले आक्रमण गर्न थालेपछि दुम्किबासका स्थानीय त्रसित
पोखरा
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिकास्थित दुम्किबास क्षेत्रमा बाघले मानिसलाई आक्रमण गर्न थालेपछि स्थानीय त्रसित बनेका छन् ।
चार दिनको अन्तरालमा दुम्किबासबाट सर्दी जानेबाटोमा दुईपटक बाघले मानिसलाई आक्रमण गरेपछि यस क्षेत्रका स्थानीय त्रसित बनेका हुन् । गत शुक्रबारमात्रै विनयी त्रिवेणी गाउँपालिका–३ बस्ने २१ वर्षीय सुवास विकलाई बाघले आक्रमण गरेको थियो । विनयी त्रिवेणी– १ होङ्सी जाने गेट नजिकै मोटरसाइकलमा सवार रहँदा बाघले उनीमाथि आक्रमण गरेको थियो । बाघको आक्रमणबाट विकको खुट्टामा चोट लागेको छ ।
कृष्ण विकले चलाएको मोटरसाइकलमा सवार सुवासलाई बाघले आक्रमण गरी तान्दै गर्दा सँगै रहेको ट्रक चालकले ट्रकले लखेटेपछि उनको ज्यान जोगिएको थियो । मङ्गलबार सोही क्षेत्रमा बाघले मानिसलाई आक्रमणको प्रयास गरेको छ । मोटरसाइकलमा सवार दुई जनालाई बाघले आक्रमणको प्रयास गरेको विनयी त्रिवेणी–३ सर्दीका स्थानीय यादव पौडेलले बताए । गत वर्ष दुम्किबास क्षेत्रमा बाघको आक्रमणबाट तीन जनाले ज्यान गुमाएका थिए ।
बाघ सोही क्षेत्रमा रहेको र कुनै पनि समय मानिसलाई आक्रमण गरी मानवीय क्षति पुर्याउन सक्ने भन्दै समयमै सम्बन्धित निकायले यसको नियन्त्रणका लागि पहल गर्नुपर्ने स्थानीयवासीको माग छ ।