बागलुङ कालीमाटीमा बन्दै वडा र स्वास्थ्य चौकी
पोखरा
पूर्वशिक्षक ८२ वर्षीय मेघराज पाण्डेयले ४ रोपनी जमिन दिएपछि कालीमाटीमा स्वास्थ्य चौकी भवन निर्माण सुरु भएको छ ।
सडकले नछोएको र पुरानो भवनमा सञ्चालित स्वास्थ्य चौकी पायक नपरेपछि नगरपालिकाले चालु वर्ष भवन बनाउन लागेको हो । बिरामीलाई लैजानै सास्ती हुने ठाउँको जीर्ण भवनमा स्वास्थ्य चौकी छ । यहाँ समस्यामा परेका बिरामी लैजानुपर्दा बोकाएर मात्रै पुर्याउन सकिन्छ । भिरालो र साँघुरो भएकाले स्ट्रेचरमा बोकाएर लैजानसमेत समस्या परेको स्थानीयले बताए ।
आगामी २०८० को जेठसम्ममा भवन बनाइसक्नुपर्ने सम्झौता छ । जुम्ली निर्माण सेवा प्रालिले १ करोड ७० लाख ५६ हजार रुपैयाँमा भवन निर्माणको जिम्मा लिएको वडाध्यक्ष मेघनाथ गैरेले बताए ।
पुरानो भवनमा शौचालयदेखि प्रशासनिक र उपचार सेवा दिनसमेत अप्ठ्यारो थियो । नयाँ बन्ने भवनमा स्वास्थ्यकर्मीको आवाससहित शौचालय, खानेपानी र आकस्मिक सेवा समेतको व्यवस्था हुनेछ । ‘सडकबाट बिरामी बोकेर ल्याउनै कठिन स्थानमा भवन छ; त्यसैले धेरै सास्ती थियो‚’ स्वास्थ्य चौकीका प्रमुख महेन्द्र शर्माले भने, ‘नयाँ भवन बनेपछि जनताले दु:ख पाउन पर्दैन ।’