कवाडी संकलन केन्द्र सहरबाहिर सार्न पोखरा महानगरको ३५ दिने अल्टिमेटम
पोखरा
कवाडी संकलन केन्द्रबाट डेंगु फैलन मद्दत पुगेको भन्दै पोखरा महानगरपालिकाले मुख्य बजार क्षेत्रबाट ५ सय मिटर बाहिर सर्न ३५ दिने अल्टिमेटम दिएको छ । महानगरले शुक्रबार जारी गरेको सूचना अनुसार डेंगुलगायत अन्य महामारी फैलन कवाडी संकलन केन्द्रहरु कारक रहेको महानगरको ठहर छ ।
सूचनामा यसअघि कवाडी संकलन गर्ने व्यवसायी र जग्गाधनीका बीचमा जे जस्तो सम्झौता भएको भए पनि जारी सूचनाअनुसार सम्झौता संशोधन गर्नसमेत महानगरले आग्रह गरेको छ ।
‘मुख्य आवास क्षेत्रबाट उक्त व्यवसाय नहटाइएमा दुवै पक्षलाई कानुनअनुसार कारवाही हुनेसमेत व्यहोरा जानकारी गराइन्छ,’ सहायक प्रमुख प्रशासकीय अधिकृत जीतेन्द्रजंग केसी हस्ताक्षरित सूचनामा भनिएको छ ।