पूर्वी नवलपरासीमा डेंगी परीक्षण गर्ने कीट अभाव
पोखरा
पूर्वी नवलपरासीमा डेंगी परीक्षण गर्ने कीट अभाव भएको छ । मध्यबिन्दु जिल्ला अस्पताल र अन्य सरकारी स्वास्थ्य संस्थामा कीट नहुँदा बिरामी चितवन र निजी अस्पतालमा जान बाध्य छन् । ‘बिरामीको चाप बढेपछि स्टकमा रहेको कीट सकिएको छ ।
प्रदेशमा पनि पर्याप्त नभएकाले आउन ढिलाइ भएको होला,’ मध्यबिन्दु जिल्ला अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले भने, ‘छिट्टै कीट ल्याउन लागिपरेका छौं ।’
कीटको अभावमा जिल्ला अस्पतालबाट दैनिक २०/२५ जना बिरामी डेंगी परीक्षणका लागि जिल्लाबाहिर जानुपर्ने बाध्यता छ । स्वास्थ्य संस्थामा दैनिक ५० जना ज्वरोका बिरामी आउने गरेकामा १० जनालाई डेंगीसँग मिल्दो लक्षण देखिने चिकित्सकहरू बताउँछन् ।