पोखराको लेकसाइडमा खुल्यो ‘ब्लुज हाउस’ रेष्टुरेन्ट
पोखरा
पोखराको लेकसाइडस्थित गैह्राको चौतारामा ‘ब्लुज हाउस’ रेष्टुरेन्ट सञ्चालनमा आएको छ ।
पोखरा-६ बैदाम निवासी युवा व्यवसायीहरु ईश्वर बराल, मिलन गुरुङ, बुद्धि थापा, ईश्वरकुमार श्रेष्ठ, सरोजकुमार श्रेष्ठ र बद्री श्रेष्ठको संयुक्त लगानमा रेष्टुरेन्ट सञ्चालनमा आएको हो ।
करिब तीन करोड रुपैयाँको लागतमा रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको सञ्चालकमध्येका एक ईश्वरकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार रेष्टुरेन्टमा २० जनाले रोजगारी पाएका छन् । ‘खाना र संगीतको कला’ भन्ने आदर्शलाई आत्मसात गर्दै रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको हो ।
पोखरा महानगरपालिका वडा नं. ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराई र स्थानीय समाजसेवी राधादेवी बरालले संयुक्तरुपमा सोमबार रेष्टुरेन्टको शुभारम्भ गरेका हुन् । वडाध्यक्ष भट्टराईले नेपालमै केही गर्नुपर्छ भन्ने सोंचका साथ रेष्टुरेन्टको सफलताको शुभकामना व्यक्त गरे ।