लमजुङमा बढी भाडा असुल्ने ४ सवारी साधन प्रहरीको नियन्त्रणमा
पोखरा
लमजुङमा तोकिएकोभन्दा बढी भाडा लिने चार गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
लामो तथा छोटो दुरीका सवारी साधनले चाडपर्वको समयमा बढी भाडा लिने गुनासो आएपछि प्रहरीले चेकजाँचमा कडाइ गरेको हो । प्रहरीले बुधबार काठमाडौंबाट लमजुङ बेसिसहरका लागि छुटेका तीनवटा माइक्रोबस र एउटा बसलाई नियन्त्रण लिएको हो ।
काठमाडौंबाट लमजुङका लागि माइक्रो बसको भाडादर ७ सय १० रहे पनि प्रतिव्यक्ति १ हजार लिएको पाइएको छ । बस भाडा ६ सय ५० रहेकामा १ हजार लिएकाले कारबाहीका लागि पूर्वाधार विकास कार्यालय, यातायात शाखा लमजुङमा पठाइएको छ ।
१० हजारका दरले दुई माइक्रो बसका सञ्चालकले जरिवाना तिरेका छन् भने बाँकी दुई वटा सवारीसाधन कारबाहीको प्रक्रियामा रहेको प्रहरीले जनाएको छ ।