पोखरामा बेच्न राखिएका केही भेडाच्यांग्रा अस्वस्थ, स्वस्थ छानेर किन्न आग्रह
पोखरा
पोखरा महानगरपालिका र पशु प्राविधिकहरुले संयुक्त रुपमा अनुगमन गरेका हुन् ।
प्राविधिकहरुले याम्दीमा बेच्नका लागि मुस्ताङदेखि बाजुरा, बझाङ, दार्चुला, डोल्पाबाट ल्याएको भेडाच्यांग्राको स्वास्थ्य जाँच गरेका उपभोक्ता हित संरक्षण समितिका सदस्य सचिव भरतराज पौडेलले जानकारी दिए । उनका अनुसार अनुगमनका क्रममा केही भेडाच्यांग्रा अस्वस्थ देखिएको छ । ‘अस्वस्थ भेडाच्यांग्रा नबेच्नु भनेर निर्देशन दिएका छौं ।
केही बाहेक सबै स्वस्थ छन्, खानका लागि उपयुक्त छन्,’ उनले भने । समितिले १५ वटा भेडा, च्यांग्राको नमुना परीक्षण गरेकोमा स्वस्थ भेटिएको छ । पशु प्राविधिकहरुले गरेको परीक्षणमा केही भेडाच्यांग्रामा पीपीआर देखिएको थियो । पशु प्राविधिक ढाकाराम पौडेलका अनुसार १५ वटा परीक्षण गर्दा एउटामा पीपीआर देखिएको छ ।
‘आँखामा चिप्रा, नाकमा सिगान नभएको र नछेरेको हेरेर किन्नुहोला,’ उनले उपभोक्तालाई भने, ‘यो रोग मान्छेलाई त सर्दैन । तर स्वस्थ नै छान्नुपर्छ । हाम्रो चिन्ता यो रोग गाउँतिर नपुगोस् भन्ने हो’।