मेमेपोखरी गएर फर्किने क्रममा हराइरहेकी युवतीको शव फेला
पोखरा
लमजुङको ऐतिहासिक एवं पर्यटकीय मेमेपोखरी गएर फर्किने क्रममा बुधबारदेखि हराइरहेकी युवतीको शव फेला परेको छ ।
बेंसीसहर नगरपालिका १०, साँधु माइत भएकी तामाङको शनिबार दोर्दी गाउँपालिका र मर्स्याङ्दी गाउँपालिकाको सीमा क्षेत्र जुम्रोडाँडा क्षेत्रमा शव फेला परेको हो ।श्रीमान्को शव भएको ठाउँभन्दा करिब १५ मिनेट तल शनिबार मध्याह्नतिर शर्मिलाको शव भेटिएको डीएसपी प्रकाश श्रीमलले बताए ।
सर्लाहीको लालबन्दी नगरपालिका १२, पत्थरकोटका २७ वर्षीय बुद्धिमान योञ्जन लेक लागेर गाह्रो भएपछि हारगुहार गर्दागर्दै श्रीमती २४ वर्षीया शर्मिला तामाङ पनि हराएकी थिइन् ।
लमजुङ सदरमुकाम बेंसीसहरबाट ३ दिन लाग्ने उक्त ठाउँबाट करिब साढे १ दिन हिँडेपछि आइपुग्ने ठाउँमा शव फेला परेको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले खोजीका क्रममा शव फेला परेको उनले बताए । अप्ठ्यारो ठाउँमा शव रहेको र मौसम खराब नै रहेपछि उद्धार गर्न कठिनाइ परेको प्रहरीले जनाएको छ ।