नवौँ राष्ट्रिय खेलकुदका लागि एकै पालिकाबाट १५ जना छनोट
पोखरा
धनुषाको एकै पालिकाबाट १५ खेलाडी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट भएका छन् ।
जिल्लाको मिथिला नगरपालिकाबाट १५ खेलाडी छनोट भएका हुन् । छनोट भएकामध्ये १४ हक्कीका एकजना खो-खोका खेलाडी भएको स्थानीय हिमालय युवा क्लबका पूर्वअध्यक्ष अरुणकुमार महतोले जानकारी दिए ।
पन्ध्र खेलाडीमध्ये सात पुरुष र आठ महिला रहेको उनले बताए । ती खेलाडी आज बिहान पोखराका लागि प्रस्थान गरेका छन् । हक्की खेलका लागि छनोट हुनेमा पुरुषतर्फ उमेश श्रेष्ठ, नवीनकुमार महतो, रूपेश राई, अजयकुमार साह, पुरुषोत्तम महतो, अजयकुमार महतो, अमित राय छन् ।
त्यस्तै महिलातर्फ अञ्जलीकुमारी महतो, भूमिकाकुमारी महतो, नीराकुमारी महतो, श्रुति राय, आरतीकुमारी महतो, मधुकुमारी साह, प्रितिकुमारी महरा र अञ्जलीकुमारी साह छिन्। त्यसैगरी खो–खो खेलतर्फ रूपा राई छनोट भएका छन् ।
आफ्नो पालिकाबाट यतिको सङ्ख्यामा खेलाडी राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएकामा भएपछि आफूहरू निकै खुसी भएको मिथिला नगरपालिकाकी उपप्रमुख सुनिता सिंह बुढाथोकीले बताइन्।