स्याङ्जा क्षेत्र नं २ र बाजुरामा मतगणना गर्न निर्देशन
पोखरा
निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत स्याङ्जा क्षेत्र नं २ र बाजुराको मतगणना गर्न निर्देशन दिएको छ ।
यही मङ्सिर ४ गते भएको निर्वाचनमा ती दुई क्षेत्रको मतदान गणना अघि बढ्न सकेको थिएन । त्यहाँ पुनः मतदानमा नजाने निर्णयसँगै अब मतगणना प्रक्रिया सुरु हुने आयोगले जनाएको छ ।
आयोगको आज बसेको बैठकले पुनः मतदानको सट्टा मतगणना गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौडेलले भने, ‘ बाजुरा र स्याङ्जा-२ मा मतगणना गर्ने भनेर सर्वसम्मत निर्णय भएको छ।’
नेकपा एमालेले स्याङ्जा २ र बाजुरामा धाँधली भएको दाबी गर्दै पुनः मतदानको माग गरेपछि मतगणना हुन सकेको छैन । नेकपा एमालेले स्याङ्जा-२ का केही मतदान केन्द्रमा धाँधली भएको भन्दै पुनः मतदानको माग गर्दै मतगणना सुरु गर्न दिएको थिएन । तर नेपाली कांग्रेसले गुरुङ मतगणना सुरु गर्न माग गर्दै निर्वाचन अधिकृतको कार्यालय वालिङमा धर्ना दिएको थियो ।
स्याङ्जा-२ को मतगणना सुरु गर्न माग गर्दै कांग्रेसका उम्मेदवारसमेत रहेका पार्टी उपसभापति धनराज गुरुङ, नेताहरु रामचन्द्र पौडेल र प्रदीप पौडेल निर्वाचन आयोग पुगेर अबिलम्ब मत गणना सुरु गर्न माग गरेका थिए । यो क्षेत्रमा कांग्रेस उपसभापति गुरुङ र एमालेकी सचिव पद्मा अर्याल प्रतिस्पर्धामा छन् । बाजुराका पनि केही मतदान केन्द्रमा विवाद भएपछि मतगणना हुन सकेको थिएन ।