मुस्ताङमा नक्कली नेपाली सेना बनेर ठगी गर्ने एक जना पक्राउ
पोखरा
नक्कली नेपाली सेना बनेर ठगी गर्दै आएका मुस्ताङको थासाङ गाउँपालिका–२ का १९ वर्षीय विपन विक हतियारसहित पक्राउ परेका छन् ।
विकले सामाजिक सञ्जाल टिकटकमा तेन्जिङ गुरुङ नाम राखी नेपाली सेनाको पोशाक तथा सेनाको नक्कली परिचयपत्र सहितको फोटो तथा भिडियो अपलोड गरेका थिए । साथै आफू सेनाको उपसेनानी/सहसेनानी भएको, बुवा उपरथी, आमा मेजर, दिदी सहसेनानी रहेको उनले भन्दै आएका थिए । उनले ‘सेनामा भर्ती गरिदिन्छु, सरुवाबढुवा गरिदिन्छु’ भनेर ठगी गर्दै आएको नेपाली सेनाको सैनिक गण, जंगी अड्डाबाट जिल्ला प्रहरी कार्यालय मुस्ताङलाई सूचना प्राप्त भएपछि पक्राउ गरी अनुसन्धान थालिएको मुस्ताङका डीएसपी रवीन्द्रनाथ पौडेलले बताए ।
मुस्ताङ प्रहरीका निरीक्षक एवं सूचना अधिकारी गोपीकृष्ण सुवेदीका अनुसार मंसिर २२ मा विकलाई पक्राउ गरी उनको घरमा खानतलासी गर्ने क्रममा स्टेन गनजस्तो देखिने एक हतियार, टेप लगाएर बनाएको वाकीटकीजस्तो देखिने एउटा बस्तु, सेनाको चुस्ता बुट पोशाक, नक्कली पेस्तोल र पेस्तोल राख्न प्रयोग गरिने पाउँचलगायत सामान बरामद भएको छ ।
उनलाई हातहतियार खरखजाना सम्बन्धी कसुरमा मुस्ताङ जिल्ला अदालतबाट प्रहरी हिरासतमा राख्ने अनुमति लिई अनुसन्धान भइरहेको उनले बताए । केही व्यक्ति ठगिएकाले त्यसमा पनि अनुसन्धान भइरहेको र कोही ठगिएको भए सम्पर्क गर्न पनि प्रहरीले अनुरोध गरेको छ ।