पाकिस्तानमा सवारी दुर्घटना, १८ जनाको मृत्यु
पोखरा
उत्तरपश्चिम पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा भएको सवारी दुर्घटनामा परी १८ जनाको ज्यान गएको छ ।
प्रहरीका अनुसार बिहीबार अबेर राति जिप दुर्घटनामा परेको थियो । सो दुर्घटनामा परेर बिहीबार राति १८ जना यात्रुको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार खैबर पख्तुनख्वा प्रान्तको कोहत जिल्लाअन्तर्गत सिन्धु राजमार्गमा दुई सवारी एक आपासमा ठोक्किन पुगेको जनाइएको छ ।
सवारी ठोक्किँदा जिपमा रहेका यात्रुको ज्यान गएको हो । विपरीत दिशाबाट आएको एक सवारीले सो जिपलाई ठक्कर दिएको थियो । पाकिस्तानमा बारम्बार सवारी दुर्घटना हुँदै आएको छ । सडकको अवस्था एवं सवारी चालकहरुको लापरवाहीका कारण यस्ता दुर्घटनाहरु हुने गरेको बताइन्छ ।