सडकमा सवारीसाधनहरु राख्ने दिनहरू सकिँदै छ: प्रमुख आचार्य



पोखरा

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सडकमा सवारीसाधनहरु राख्ने दिनहरू अब सकिँदै गएको बताएका छन् ।

न्यूरोडस्थित पूर्णिमा सिनेमा हल विस्थापन गरी खाली रहेको जग्गामा सःशुल्क पार्किङको शुभारम्भ गर्दै उनले सडक पार्किङका लागि अब टेन्डर नगर्ने र सडकमा पार्किङ गर्ने परम्पराको अन्त्य गरिने बताएका हुन् ।  ‘अहिले हामीले सडकमा भइरहेको पार्किङको कुनै शुल्क उठाएका छैनौँ, सडकमा अब हामीले टेन्डर गर्दैनौँ, यसको अर्थ के हो भने अब सडकमा सवारीसाधन राख्ने दिनहरू बिस्तारै सकिए भन्ने बुझ्न पर्छ’, प्रमुख आचार्यले भने, ‘त्यसकारण अहिले महानगरले घोषणा गरेको क्षेत्रमा पार्किङ व्यवस्थापनका लागि प्राविधिक तयारी नपुगेकाले मात्रै खुकुलो हुनु परेको हो ।” 

तर, बिम्बका हिसाबले पार्किङ व्यवस्थापनको अभियान शुरु गरिएको उनले बताए । पोखरा महानगर क्षेत्रमा बनेका भवनहरूको बेसमेन्टहरुलाई पार्किङका लागि उपयोग गरिने उनले बताए ।  यस्तै, मुख्य सडकको दायाँबायाँ रहेका खाली जग्गाहरूलाईसमेत सम्बन्धित जग्गाधनीहरुसंगको समन्वय तथा सहकार्यमा नियमानुसार शुल्क लिने गरी पार्किङ कै लागि उपयोग गर्ने तयारीमा महानगर रहेको उनले स्पष्ट पारे । उनका अनुसार पोखरा सभागृह र पोखरा प्रदर्शनी केन्द्रमा भने अर्को व्यवस्था नभएसम्मका लागि निःशुल्क पार्किङको व्यवस्था गरिएको छ । 

पोखरा महानगरपालिका क्षेत्र भित्रको पार्किङलाई थप व्यवस्थित बनाउनका लागि सम्बन्धित सरोकारवालाहरुसंगको छलफल समेत जारी रहेको बताउँदै उनले पेशा व्यवसाय र वर्गलाई असर नपर्ने गरी पार्किङ व्यवस्थापन गरिने बताए । पोखरा महानगरपालिकाले पार्किङका लागि व्यवस्थापन गरेका स्थानहरूमा पाँचसय बढी साना सवारीहरू र चारसय बढी मोटरसाइकल तथा स्कुटरहरू पार्किङ गर्न सक्ने क्षमता रहेको प्रमुख आचार्यले जानकारी दिए ।

पोखराको मुख्य बजार क्षेत्र पृथ्वीचोक-सभागृहचोक-न्यूरोड-विपीचोक-महेन्द्रपुल-नयाँबजार हुँदै पृथ्वीचोकसम्मको सडकमा २५० गाडी र ३५० मोटरसाइकलहरू पार्किङ गरेको पाइएको छ ।  ‘सडकमा भइरहेको पार्किङको उपयुक्त विकल्प महानगरसँग छ । सडकमा जतिको संख्यामा सवारीसाधान पार्किङ गरिएका छन्, त्यसको दोब्बर क्षमता महानगरले व्यवस्था गरेका स्थानमा छ’, प्रमुख आचार्यले भने, ‘तत्काल पार्किङ हटाउँदा व्यापार व्यवसायमा असर पर्छ कि भन्ने व्यवसायी साथीहरूको जुन किसिमको बुझाई, तर त्यसो हुँदैन ।”

आफूहरू सडकको पार्किङ हटाइएको क्षेत्रमा नियमित चल्ने गरी सटल बसकोसमेत व्यवस्था गर्ने तयारीमा रहेको उनले बताए । आवतजावत गर्नका लागि सम्बन्धित व्यवसायीहरुसंग सहकार्य गरी सटल बसकोसमेत व्यवस्था गरिनेछ ।  पोखरा महानगरपालिका नेकपा एमाले दलका नेता राधिका कुमारी शाही योगीले सडकमा हुने पार्किङ व्यवस्थापन गर्ने महानगरको अभियानमा साथ दिन सम्बन्धित सबै सरोकारवालाहरूलाई आग्रह गरिन् । पोखरा महानगरपालिका वडा नं ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले सुन्दर पोखरा निर्माणको अभियान पोखरा-९ बाटै शुभारम्भ गरिएको बताए । ‘सधैँ पोखरा कुरूप हुँदैन, अब पोखरा सुन्दर बन्छ, सुन्दर बनाउने अभियानको शुरुवात हो यो”, उनले भने । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja