गोरखाको धार्चेबाट सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार
पोखरा
उत्तरी गोरखाको धार्चे गाउँपालिका-२ रून्चेतबाट एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
सुत्केरी व्यथा लागेपछि २२ वर्षीया अनिता गुरूङलाई केरौंजास्थित स्वास्थ्य चौकी लगिएको थियो । तर उनलाई त्यहाँ प्रसूति गराउन नसकेपछि परिवारले सो क्षेत्रका सांसद राजेन्द्र बजगाईंलाई आग्रह गरेका थिए । बजगाईको पहलमा बुधबार गुरुङको उद्धार गरिएको हो । उनलाई प्रसूति गराउन र थप उपचारकालागि काठमाडौं ल्याइएको छ ।
सांसद बजगाईले नेपाली सेनासँग समन्वय गरेर हेलिकप्टर पठाएर उद्धार गरेको र अहिले अनिताको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको बताए । उनका अनुसार राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सुत्केरी महिला उद्धार कार्यक्रमबाट अनिताको उद्धार भएको छ ।उत्तरी गोरखामा सडक पहुँच छैन । जसकारण त्यहाँ बिरामी हुँदा सर्वसाधारणलाई सास्ती हुने गरेको छ ।