ब्राजिलमा बाढी पहिरोमा परी ३६ जनाको मृत्यु
पोखरा
ब्राजिलको दक्षिणपूर्वी साओ पाउलो राज्यमा भीषण वर्षाका कारण आएको बाढी पहिरोमा परी ३६ जनाको मृत्यु भएको छ ।
साओ सोस्टियाओ शहरबाट सम्प्रेषण गरिएका टेलिभिजन एवम् सामाजिक सञ्जालमा उपलब्ध दृश्यमा बाढीले घर र जमिन बगाएको, मोटरकार खोलामा खसेका, भत्केका राजमार्ग र ढलेका रुख देख्न सकिन्छ । उक्त शहरमा ३५ जनाले ज्यान गुमाएका राज्य सरकारले बताएको छ । उबातुबा शहरमा पनि एक बालिकाको मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन् ।
साओ पाउलो शहरको उत्तरी तटीय क्षेत्रमा दुई सय २८ जना घरबारविहीन भएका तथा तीन सय २८ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । अधिकारीहरूले बाढीपहिरोमा हराएका तथा घाइते भएकाहरूका बारेमा जानकारी दिएका छैनन् ।
साओ पाउलो राज्यका गभर्नर टार्सिसियो डे फ्रेटासले बाढी प्रभावित क्षेत्रको निरीक्षणपछि तटवर्ती पाँच शहरमा आपतकाल घोषणा गरेका छन् । साथै उनले उद्धार तथा राहतका निम्ति १५ लाख अमेरिकी डलर निकासा गरेका छन् । राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले बाढी प्रभावित क्षेत्रको आज भ्रमण गर्ने कार्यक्रम छ ।
जलवायु परिवर्तनका कारण उत्पन्न विषम परिस्थितिका कारण ब्राजिलमा अकल्पनीय प्रभाव परिरहेको छ । गत वर्षको मुसलधारे वर्षाका कारण पेट्रोपोलिस शहरमा दुई सय ३० जनाभन्दा बढीको मृत्यु भएको थियो ।