पोखरा मालेपाटनमा आज बेवारिसे अवस्थामा एक पुरुषको शव फेला
पोखरा
पोखरामा आज बिहान करिब ५:३० बजे बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको प्रहरीको भनाई छ ।
बेवारिसे अवस्थामा फेला परेका पुरुषको शवको परिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । मृतको घाँटीमा केलीन लेखिएको सानो अक्षरको ट्याटु र हातमा स्टार ट्याटु रहेको छ । पोखरा महानगरपालिका – ५ मालेपाटन स्थित कालिका पेट्रोल पम्प नजिक नाम/थर नखुलेको पुरुषलाई प्रहरीले घाइते अवस्थामा उद्धार गरी अस्पताल पुर्याएको थियो ।
शरीर ददारिएको अवस्थामा शनिबार बिहान साढे ५ बजे भेटिएका ती पुरुषलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा उपचारका क्रममा बिहान साढे ८ बजे मृत्यु भएको प्रहरीले बताएकाे छ । मृतकको पहिचान नखुलेपछि प्रहरीले हुलियाको जानकारी दिँदै सूचना जारी गरेको छ ।
प्रहरीका अनुसार मृतकको उमेर अन्दाजी ३५ रहेको छ भने उचाई करिब ५ फिट ४ इन्च रहेको छ । मङ्गोलियन वर्ष जस्तो देखिने पुरुषले खरानी रङको हाफ पेन्ट र खैरो रङको कोठे स्वेटरभित्र कालो टिसर्ट लगाएका छन् । मृतकको घाँटीमा Kellin लेखिएको ट्याटु, देब्रे नाडीको हत्केला पछाडि ताराको ट्याटु र दुवै पाखुरादेखि नाडीसम्मै विभिन्न ट्याटु पनि खोपिएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।