पोखराको पीएन क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी
पोखरा
पोखराको पृथ्वीनारायण क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा विभिन्न विद्यार्थी संगठनले तालाबन्दी गरेका छन् ।
क्याम्पसमा निर्वाचन समिति र क्याम्पस प्रशासनको मिलेमतोमा मतदाताको नाम टुंगो नलाग्दै नामावली बाहिर ल्याएको भन्दै उनीहरुले अनिश्चितकालीन तालाबन्दी गरेका हुन् । अखिल क्रान्तिकारी, अखिल क्रान्तिकारी छटौं, अखिल क्रान्तिकारी ‘विप्लव’, अखिल क्रान्तिकारी संयुक्त लगायत विद्यार्थी संगठनले संयुक्त प्रेस विज्ञप्ति जारी गर्र्दै २ बुँदे मागसमेत राखेका छन् ।
उनीहरुले त्रिभुवन विश्वविद्यालयले घोषणा गरेको स्ववियु निर्वाचन अगावै निर्वाचनलाई प्रभावित पार्ने गरी विद्यार्थीको नाम, ठेगानासहितको व्यक्तिगत विवरण बाहिर ल्याएको आरोप लगाएका छन् ।
विज्ञप्तिमार्फत उनीहरुले त्रिभुवन विश्वविद्यालयमार्फत तलबभत्ता लिने शिक्षक, प्राध्यापक, कर्मचारीले आसन्न निर्वाचनमा मतदान गर्न नपाउने, फागुन १९ गतेसम्म दर्ता भएका संघ, संगठन र समूहको नामावली जस्ताको तस्तै पुनः प्रकाशन गर्न माग राखेका छन् ।
उनीहरुले स्ववियु निर्वाचन कार्यालयमा लगाइएको तालाबन्दी खोल्ने दुस्साहस नगर्नसमेत चेतावनी दिएका छन् । ‘…उल्लेखित माग सम्बोधन नभएसम्म स्ववियु निर्वाचन कार्यालय अनिश्चितकालीन तालाबन्दी गरिएको छ । तालाबन्दी खोल्ने दुस्साहस गरेमा त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी स्वयं निर्वाचन समिति र क्याम्पस प्रशासन हुनेछ,’ विज्ञप्तिमा भनिएको छ ।