गण्डकी सरकार आगामी आर्थिक वर्षको बजेट ल्याउने अन्तिम तयारीमा
पोखरा
पुरानै कार्यक्रमलाई निरन्तरता दिँदै नीति तथा कार्यक्रम ल्याएको गण्डकी प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउने तयारीमा छ ।
प्रदेशले आफ्नो क्षमताभन्दा ठूलो बजेट ल्याउँदा कार्यान्वयनमा उत्तिकै चुनौति छ । विज्ञहरु बजेट ल्याउँदा तीन तहकै सरकारबीच समन्वय नहुने र क्षमताभन्दा माथि बजेट ल्याउने परिपाटी रहेकाले समस्या हुने गरेको बताउँछन् ।
सरकारले बजेट घटाएर ल्याउने भए पनि स्वास्थ्य क्षेत्रको बजेट भने उत्ति नै रहने बताइएको छ । भौतिक मन्त्रालय स्रोतका अनुसार यसपटक टुक्रे योजना ल्याइँदैन । ३० लाख भन्दा साना योजना सफ्टवेयरमा नै इन्ट्री नगरिएको मन्त्रालयले जनाएको छ । प्रदेश नीति तथा योजना आयोगका सदस्य सुवास अधिकारीका अनुसार प्रदेशको पञ्चवर्षीय आयोजना, दिगो विकासका १७ वटा लक्ष्य, मध्यकालीन खर्च संरचना र प्रदेशमा उठेको राजश्वलाई आधार मान्दै बजेट निर्माण गरिएको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले बजेट बनाउँदा राजस्वको लक्ष्य यथार्थपरक र पूर्वानुमानयोग्य हुनुपर्ने बताए । तथ्यपरक अनुमान गर्न नसकिए बजेट बनाउनुको औचित्य नरहने उनको तर्क छ । ‘योजनाको चाप या राजनीतिक दबाब छ भन्दै राजस्वको अनुमान बढाएर बजेटको आकार बढाउन थालियो भने त्यसले विकृति निम्त्याउँछ’ उनले भने, ‘गण्डकी प्रदेशमा अहिलेको समस्या पनि यही हो । आफ्नो क्षमता छैन बजेटको आकार ठूलो छ । बजेट ल्याउँदा आफ्नो वास्तविक धरातल के हो ? भनेर बुझ्न जरुरी छ ।’
उनले तीन तहका सरकारबीचको समन्वय गरेर बजेट ल्याउनुपर्ने धारणा राखे । केही दिनअघि पोखरामा प्रदेश सांसदलाई बजेटबारे बुझाउँदै पौडेलले संघीय सरकारले प्रदेश सरकारलाई दिने समानीकरण अनुदान बढाउनुपर्ने र बजेट र योजना तर्जुमामा प्रदेश सरकारलाई बढी अधिकार दिएर सशर्ततर्फको अनुदान पनि एकमुष्ट दिनुपर्ने बताएका थिए । नीति र मापदण्ड तोकेर सशर्त अनुदानलाई एकमुष्ट दिने हो भने प्रदेशले आफ्ना प्राथमिकता तय गर्न सक्नुपर्ने उनको भनाइ थियो ।